काठमाडौं : खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगका अध्यक्ष रुद्रप्रसाद गौतममाथि आर्थीक अनियमितताको आरोप लागेको छ । आयोगले गर्नुपर्ने काम नगरेको तर, बजेट सक्न क्षेत्राधिकारभन्दा बाहिर गएर भत्ता बुझ्ने गरेको आरोप अध्यक्षमाथि लागेको छ ।

०८० पुस १३ गते अध्यक्षमा गौतम र सदस्यहरुमा कूलभूषण शेखर शर्मा र यशोदा कार्की नियुक्त भएका थिए । अध्यक्ष गौतम र सदस्य शर्मा मिलेर मनोमानी संस्था चलाइरहेको आयोगकै एक सदस्यकाे फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ ।

प्रचण्डको नेतृत्वको सरकार हुँदा नियुक्त गौतम ललितपुर महानगरपालिकाबाट रिटायर्ड भएका इञ्जिनियर हुन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ललितपुर महानगरकै इञ्जिनियरका हैसियतमा आएका गा‌ैतम त्यहाँ एमडी हुँदा भ्रष्टाचार मुद्दा लागेपछि महानगरमै फर्केका थिए । ललितपुर महानगरपालिकाबाट रिटायर्ड गाैतम त्यसपछि प्रचण्ड नेतृत्वको सरकार हुँदा महसुल आयोगमा अध्यक्ष नियुक्त भए । तर, २ वर्षसम्म आयोगको अध्यक्षका रुपमा सेवा सुविधा लिनेबाहेक माखो मार्न नसकेको आरोप छ ।

आयाेग सदस्य कार्कीले अध्यक्ष गाैतममाथि प्रश्न  उठाएकाे विषयमा बुझ्दा आयाेग प्रवक्ता मुक्ति प्रसाद खनालले भने आयाेगका टाेली अनुगमनका लागि गएकाे बताए ।

आयोगकै सदस्य कार्कीले सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखेपछि गौतममाथि आर्थीक अनियमितता र पदीय शक्तिको दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष गौतममाथि प्रश्न उठाएपछि आयोगभित्रको बद्मासी बाहिर आएको छ । ‘यो आयोगले गर्ने काम केहि गर्न सकेको छैन । २ हजार धारा सङ्ख्या भन्दा धेरै धारा भएको खानेपानी तथा सरसफाइ सेवा प्रदायकहरुको पानीको महसुल निर्धारण गर्ने यसको मुख्य काम हो ,’ उनले लेखेकी छन्,‘२ वर्ष बितिसक्दा एउटै काम गर्न नसक्दा पनि कुनै हिनताबोध नभै अझ बजेट सक्ने बाहानामा क्षेत्राधिकार भन्दा बाहिर रहेर भत्ता बुझ्न देश दौडामा हुनु मेरो बिचारमा राज्यकाेषको दोहन हो जस्तो लाग्छ। यस्तो गलत कर्म गर्न र साक्षि बस्नु हुदैन भन्ने ब्रम्हले भनिरहेको छ ।’

आयोगको पदाधिकारी र कर्मचारीहरुले नागरिकले तिरेको करको दोहन गर्ने देखि बाहेक यसको कुनै काम नभएको उनको प्रश्न छ । मिलिभगतमा अनियमितता भएको आभास भैरहेको भन्दै उनले कामविहिन आयोग खारेज गर्न सरकारसँग माग पनि गरेकी छन् । उनले स्याङ्जामा कार्यक्रममा जाने क्रममा पोखरामा खाजा खाइरहेकाे तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘ल हेर्नुस लाज पनि लजाउछ राज्यको पैसामा खान बस्न पाएपछि रक्सि अगाडि पछाडि फोटो खिज्दै रमाउदै । जबकि सरकारको सर्कुलेसन छ अत्यावश्यक कामदेखि बाहेक अरु नगर्नु ।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको