काठमाडौं : विघटित संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसभित्र संसद पुनःस्थापनाको मुद्दामा विभाजन देखिन थालेको छ । महाधिवेशनको उल्झनकै बीच अर्को मुद्दामा देखिएको विभाजनले कांग्रेसलाई अझै अलमलमा पार्ने संकेत दिएको छ ।
कांग्रेसका केही निवर्तमान सांसदहरूले संसद पुन:स्थापनाकाे लागि हस्ताक्षर अभियान सुरू गरेका छन् भने महामन्त्री गगन थापा संसद पुनःस्थापनाकाे विपक्षमा उभिएका छन् । उनले घाेषित फागुन २१ काे निर्वाचनले नै संविधानलाई ट्र्याकमा ल्याउने भन्दै नयाँ संसदकाे पक्षमा आफूलाई उभ्याएका छन् ।
महामन्त्री थापा पक्ष र संस्थापन पक्षबीच निर्वाचनअघि महाधिवेशन गर्ने कि निर्वाचनपछि भन्ने विषयमा द्वन्द्व चल्दै आएको थियो । अहिले, संस्थापन पक्षका सांसदहरूले संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर संकलन सुरु गर्नुलाई निर्वाचन नै धकेलेर महाधिवेशन टार्ने रणनीतिका रूपमा समेत हेर्न थालिएको छ ।

