काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की रहनुभएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले कन्ट्रोल रुमको चाबी प्रमुख अतिथि कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि प्रमुख अतिथि कार्की र विशिष्ट अतिथि श्रेष्ठले संयुक्त रूपमा पुनर्निर्मित कन्ट्रोल रुमको समुद्घाटन गर्नुभयो।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले स्वागत मन्तव्य दिनुभएको थियो। त्यसैगरी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् विपद् व्यवस्थापन समितिका कार्यकारी निर्देशक रवि किरण अधिकारीले कन्ट्रोल रुम पुनर्निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो।

विशिष्ट अतिथि मनोज कुमार श्रेष्ठले आफ्नो संस्था र टोलीले नागरिकको जिम्मेवारीका रूपमा योगदान गरेको बताउँदै, कन्ट्रोल रुममा जडित आधुनिक प्रविधिबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उनले शीघ्र ब्रेथलाइजर हस्तान्तरणको योजनाबारे पनि जानकारी दिनुभयो।

प्रमुख अतिथि एआईजी कार्कीले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकार्यका लागि आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले सुरक्षा व्यवस्थापन र ट्राफिक सेवाको प्रभावकारिता बढाउने उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू तथा तीन जना ट्राफिक प्रहरीहरूलाई कदरपत्रद्वारा सम्मान गरेको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पदाधिकारी, ट्राफिक प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको