काठमाडौं : नेपाल प्रहरीले तिहारकाे बेलामा शान्तिसुरक्षा कायम गर्दै नागरिककाे जीउधनकाे रक्षा गर्न विशेष सुरक्षा याेजना लागू गरेकाे छ । जसअन्तर्गत ६ हजार १ सय ६ प्रहरी परिचालन हुनेछन् ।
तालिमप्राप्त कुकुरबाट चेकजाच साथै अपराधिक गतिबिधिबारे सुचना संकलन र जुवा नियन्त्रणका लागि ठुलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिएकाे छ ।
तिहार पर्व नजिकिएसँगै उपत्यकामा शान्ति सुरक्षा मजबुत गराउन काठमाण्डौ उपत्यका प्रहरीले बिशेष सुरक्षा योजना बनाई लागु गरेको हाे।
उपत्यका प्रहरी कार्यालयका अनुसार तिहारको अवसरमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन व्यापक चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरिनेछ। यसका लागि दिवा र रात्रीकालिन गस्ती परिचालनलाई बढाईएको छ । त्यसैगरि प्रविधिको प्रयोग मार्फत नीग्रानी बढाउदै संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाइने बताइएको छ।
चाडपर्वको मौका छोपेर हुने चोरी, लुटपाट, झैँझगडालगायत अपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिइएको छ। यस्ता गतिविधिहरू नियन्त्रण गर्न सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी खटाइनेछ।
त्यस्तै, तिहारसँगै व्यापक रूपमा चल्ने जुवा र सट्टेबाजी नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिने जनाइएको छ।
उपत्यका प्रहरीका अनुसार सुरक्षा ब्यवस्थालाई अझ प्रभावकारी बनाउन नागरिकहरूको सहयोग आवश्यक रहेको र कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी इकाइ वा हेल्पलाइनमा सम्पर्क गर्न आग्रह गरिएको छ।

