काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

मुर्ति निर्माणको काम चालिस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने छ ।

यो परियोजना तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ मा सुरु गरेकी थिईन । मूर्ति निर्माणका लागि शेष घले दम्पतीले ३ करोड ५० लाख रुपैयाँ लगानी गरेकाछन् । अर्को वर्षसम्म मुर्ति निर्माणको काम सम्पनन्न हुनेछ ।

यो मूर्ति मुक्तिनाथ मन्दिर र सोनाम लामाले निर्माण गरेको बुद्ध मूर्तिको बीचमा रहनेछ । दुवै मूर्तिबीचको दूरी करिब दूई सया फिट छ । समुद्र सतहबाट ३,७१० मिटर उचाइमा रहेको यो स्थानबाट चारैतिर हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

सोनाम लामा र शेष घलेले यो परियोजनाको नेतृत्व गरिरहेका छन् । लामाले यसअघि नै मुक्तिनाथमा करिब ६ करोड रुपैयाँको लगानीमा बुद्ध मूर्ति स्थापना गरिसकेका छन् । ‘हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा थलो मुक्तिनाथको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गर्न विष्णु मूर्ति निर्माणको पहल गरेका हौँ,’ लामाले भने ।


विष्णु मूर्ति निर्माणका लागि आवश्यक ढुंगा चोभारबाट ल्याइएको छ । यसअघि स्थापना भएको बुद्ध मूर्तिमा पनि चोभारकै ढुंगा प्रयोग गरिएको थियो । मूर्ति निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २० जनाभन्दा बढी कालिगड संलग्न छन् । ३५ फिट अग्लो यो मूर्ति निर्माण सम्पन्न भएपछि मुक्तिनाथको धार्मिक र पर्यटकीय आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ ।

मुर्ति स्थापनाका लागि मुक्तिनाथ विकास समितिले पनि सहयोग गरिरहेको लामाले बताए । मुर्ति स्थापनाका लागि भनेर गाउँपालिकाले समेत वडा अध्यक्ष र स्थानीयहरूसँग छलफल गरिरहेको लामाले सुनाए । समग्र परियोजना सम्पन्न गर्न करिब ९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

मुक्तिनाथ विकास गुरु योजनाअन्तर्गत परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले यो परियोजना अगाडि बढाइएको हो । हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिने मुक्तिनाथमा विश्वभरका पर्यटक र तीर्थयात्रीहरू आउने गर्छन् । विष्णु मूर्तिको स्थापनाले मुक्तिनाथको धार्मिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने उदेश्यले यो परियोजना सुरु गरिएको घलेको भनाई छ । यो परियोजनाले मुस्ताङको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउने घले दम्पतीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको