सन्दिप पराजुली – हिजो म न्यूरोड र असन जानुपर्ने काम पर्यो। दशैं नजिकिँदै गरेको बेला त्यस तर्फ जादा, बाटोभरि भीड देखेर मनमा एउटा फरक अनुभूति भयो।
सडकमा मानिसहरू हतारिँदै थिए,कसैको हातमा झोला, कसैको आँखामा उत्साह, कसैको अनुहारमा चिन्ता। सजिलै बुझिन्थ्यो, सबैजना दशैंको किनमेलमा व्यस्त थियो। बाहिरी तामझाम त थियो नै तर मेरो मनभित्र भने कताकता अनौठो पीडाको तरङ्ग बगिरहेको थियो।
असनको एक पसलमा रोकिएँ। त्यतिबेला दुई जना मानिसको संवाद कानमा पर्यो। सुरुमा सामान्य जस्तो लाग्यो, तर ध्यान दिएर सुन्दा मन भारी बनाइदिने सत्य भेटियो।
ती दुबै जना एक कम्पनीका मजदुर रहेछन्, जुन केही दिन अघि आन्दोलनको नाममा जलाइएर खरानी बनाइएको रहेछ। तीमध्ये एकजनाले आक्रोशमिश्रित स्वरमा भने,
“दुई महिनादेखि तलब लिएका छैनौँ एकैपटक दशैंमा लिउला भनेर । अब दशैंमा घर फर्केर परिवारलाई के देखाउँला? कम्पनीलाई नै खरानी बनाइदिए, ती पापीहरूले…”
त्यो स्वरमा केवल शब्द मात्र थिएनन्, त्यो त पीडाले च्यातिएको आत्माको चित्कार थियो। अर्को मजदुरले टाउको हल्लाउँदै थपे, “यो दशैं हामीलाई के? बच्चाहरूको आँखामा खुशी ल्याउनुपर्ने बेला, खाली हात लिएर जाँदा कस्तो पीडा हुन्छ थाहा छ?”
यी शब्दहरूले मेरो हृदयलाई भक्कान बनाइदिए। एकछिनका लागि लाग्यो,यी दुई मजदुर मात्र होइनन्, नेपालकै हजारौँ परिवारको पीडा यस्तै छ। कसैको बालबालिका भोकै पेट सूतेका होलान्, कसैको बुढाबुढीले छोराछोरी दशैंमा फर्किन्छन् भनेर बाटो पर्खिरहेका होलान्।
७२ युवाको रगत, आमाको आँसु र अधुरो दशैं
७२ जना युवाले आन्दोलनको नाममा आफ्नो जीवन आहुति दिएका छन्। उनीहरूको रगत अझै सडकमै सुकेको छैन, परिवारको आँसु अझै ओइरिइरहेको छ। एउटै छानोभित्र टोलाएर बस्ने बालबालिका छन्, जसले बुबाको अनुहार सदाको लागि गुमाएका छन्। आमाको आँखामा दशैंको खुशी होइन, केवल पीडाको धुम्म परेको धुंध देखिन्छ।
घुसपैठको नाममा, १२२ वर्षअघि चन्द्रशमशेरले बनाएको १,७०० कोठे सिंहदरबार, राष्ट्रको गौरविलो सम्पत्ति, आज खरानीमा परिणत भयो। कहिल्यै सबै मन्त्रालय र कार्यालय सञ्चालित हुने यो दरबार जलेर कालो ठुटो बनेको छ। सर्वोच्च न्यायालय पनि आगोको लप्कामा पर्यो, जहाँ १२० भन्दा बढी सवारीसाधन र १ लाख २० हजार मुद्दा सम्बन्धी मिसिल खरानी भए। चीनको १ अर्ब सहयोगमा बनेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, जहाँ संविधानसभा बैठक बसेर २०७२ को संविधान घोषणा भएको थियो, त्यसैगरी जलाइयो। त्यति मात्र होइन, हजारौँ नेपालीलाई रोजगारी दिने भाटभटेनी जस्तो निजी सम्पत्तिमाथि समेत आक्रमण गरी लुटपाट र आगजनी गरियो। यस्ता घटनाहरू हृदयविदारक छन्, जसले गहिरो घाउ दिएको छ।
यस्तो घडीमा धुमधामसहित दशैं मनाउनु… के त्यो सहानुभूतिपूर्ण हुन्छ र ? के त्यो नै हाम्रो संस्कृतिको आत्मा हो?
नेपाल आमा आज जलिरहेकी छिन्, घाइते भएकी छिन्। स्वार्थी राजनीति र भ्रष्टाचारको आगोले उनको शरीर पोलिरहेको छ। आमा थकित भएकी छिन्, तर अझै ढलेकी छैनन् र उनको आँशुमा हाम्रो भविष्यको प्रतिबिम्ब डुबिरहेको छ। अनि हामी भने भोजभतेर, तडकभडकमा रमाउने? आफ्नै आमा रोइरहेकी बेला छोराछोरीले रमाइलो गर्नु भन्दा ठूलो विडम्बना के हुन सक्छ?
दशैंयात्रा: हर्ष कि संघर्ष
काठमाडौंबाट गाउँ फर्किनेहरूको यात्रा सजिलो छैन। समाचार आउँछ..मुग्लिन–नारायणगढ खण्डमा रातभर पहिरो खसेर बाटो बन्द भएको छ। पश्चीम तर्फ जाने यात्रु दाउन्नेमा घण्टौँसम्मको जाममा अड्किएर पीडामा बसिरहेका छन्। कोही पहिरोले थुनिएको बाटोमा जीवन र मृत्युबीच संघर्ष गर्दैछन्, कोही यात्रू बसको छतमा जीवनलाई जोखिममा राखेर घर पुग्ने प्रयासमा छन्। सडकमा साना बच्चा रोइरहेका छन्, वृद्ध आमाबाबु थकित भएर आँखा थामिरहेका छन्, तर घर पुग्ने चाहनाले सबैलाई अघि बढाइरहेको छ।
यी दृश्यहरूले हृदय चिरिन्छ। दशैं मानौँ केवल घर पुग्ने संघर्षको अर्को नाम बनेको छ। यस्तो बेला दशैं केवल पूजाआजा, श्रद्धा र आशीर्वादमै सीमित हुनु उपयुक्त होइन र? आखिर चाडपर्वको वास्तविक अर्थ त आत्मीयता, सहानुभूति र साझेदारी हो—हामीलाई नजिक ल्याउने, पीडामा परेका परिवारसँग हात थाम्ने। त्यो आत्मीयता विना दशैंको रौनक अधुरो हुन्छ। चाडपर्वले त भोकालाई खाना, थाकेकोलाई सान्त्वना, र एक्लोलाई साथ दिने अवसर दिनुपर्छ,!!
पर्वको अर्थ: सहानुभूति र आत्मसंयम
हामी संस्कृतिको विरासत बोकेका छौँ। पर्व मनाउनु आवश्यक छ, तर जिम्मेवारीसँगै। आजकै यथार्थमा, भोजभतेरभन्दा बढी सहानुभूति आवश्यक छ।
मेरो मनले फेरि भन्यो…
“दशैं मनाऔं, तर सरलतामा। देवीको पूजाआजा गरौँ, आशीर्वाद थापौँ। तर भव्य भोज, अनावश्यक तामझामलाई बिर्सौँ। किनकि अहिले नेपाल आमाको घाउ निको भएको छैन, उनका सन्तानको आँसु अझै सुकिसकेको छैन।”
अन्तिम अनुभूति
दशैं हाम्रो संस्कृति हो, हाम्रो अस्तित्व हो। तर संस्कृति भनेको केवल भोजभतेर र तामझाम होइन, एकअर्काको पीडा बुझ्ने संवेदनशीलता पनि हो। आज नेपाल आमाका घाउ अझै सुकिसकेका छैन। ७२ जना सहिद परिवारका आँसु अझै ओभाएको छैन। मजदुरहरू तलब नपाएर छट्पटाइरहेका छन्, कतै बालबालिका भोकै निद्रामा ढलिरहेका छन्। यात्रुहरू पहिरोले थुनिएको बाटोमा घर पुग्ने संघर्ष गरिरहेका छन्।
यस्तो घडीमा, दशैंलाई अन्धो उत्सवको रूपमा मनाउनु विडम्बना मात्र हुन्छ। साँचो पर्व त तब हो, जब हामीले आत्मीयता बाँड्न सक्छौँ, पीडितको हात समात्न सक्छौँ, र सहानुभूतिले संस्कृतिको रङ्ग अझै गाढा बनाउन सक्छौँ।
यस वर्ष दशैंलाई सरलतामा सीमित गरौँ,देवीको पूजाआजा गरौँ, बडापाकाबाट आशीर्वाद थापौँ, परिवारसँग आत्मीयता बाँडौँ। तर अनावश्यक तडकभडक, भव्य भोजभतेर र विलासितालाई किनारा लगाऔँ। किनकि अहिले नेपाल आमाले हामीसँग आड र साथ खोजिरहेकी छिन्, रमाइलो होइन।
नेपाल आमाको आँसु पुछ्न सक्यौँ भने, सहिद परिवारलाई सम्झन सक्यौँ भने, पीडामा परेकालाई अँगाल्न सक्यौँ भने त्यही हाम्रो साँचो दशैं हुनेछ।
दशैंलाई असत्यमाथि सत्यको विजयका प्रतीक पर्वका रूपमा मानिन्छ। यही सन्देशलाई जीवनमा उतार्ने हो भने, अन्याय र अन्यौलमा परेका पीडितलाई न्याय दिलाउने काम अब ढिला गर्नु हुँदैन। समाजका हरेक सचेत नागरिकले अन्यायविरुद्ध आवाज उठाई राज्यलाई दबाब दिनु आजको आवश्यकता हो। विनाश, आतङ्क र हिंसा फैलाउने तत्वलाई कानुनी कठघरामा उभ्याउन सक्ने दिन नै वास्तविक दशैं हुनेछ। त्यो दिनमा मात्र सत्यको विजयको सन्देश व्यवहारमा साकार हुनेछ, जसले हाम्रो संस्कृति, धर्म र मूल्यलाई अझ सार्थक बनाउनेछ।



