
काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल सम्पन्न भएको छ । ‘मिस भिवा–२०२५’ को विजेता जेसिका सिंह ठकुरी बनेकी छन्।
आइतबार राजधानीस्थित याक एण्ड यति होटलमा सम्पन्न प्रतिस्पर्धामा १५ जना अन्तिम प्रतिस्पर्धीहरुमध्ये ठकुरीले उपाधि जितेकी हुन्।
प्रतियोगितामा निसिता जोशी फर्स्ट रनर–अप, निशा श्रेष्ठ सेकेन्ड रनर–अप, आस्मा रिजाल थर्ड रनर–अप र टिना परियार फोर्थ रनर–अप बने। साथै, विभिन्न उपाधिहरु समेत प्रदान गरिएका थियो । ‘मिस आईसीटी अवार्ड’ आस्मा रिजालले, ‘मिस ब्यूटिफुल स्किन’ र ‘बेस्ट इन इभिनिङ गाउन’ जेसिका सिंह ठकुरीले, ‘मिस बेस्ट मेकअप लुक’ निशा श्रेष्ठले, ‘मिस बेस्ट इन स्विमसुट’ टिना परियारले र ‘मिस इको क्विन’ आकृति घिमिरेले जित्न सफल भए।
कार्यक्रममा ‘मिस ग्रान्ड इन्डिया–२०२५’ की विजेता विशाखा कंवरको विशेष सहभागिता पनि रहेको थियो।
आयोजक उमङ्ग क्रिएसनका संस्थापक उद्धव अधिकारीका अनुसार यो प्रतियोगिता छैटौँ संस्करण हो। सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइए पनि त्यसपछिदेखि ‘मिस ग्रान्ड इन्टरनेशनल’मा सहभागी गराउने व्यवस्था गरिएको हो।
यसपटक विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् भने रनर–अपहरूले विभिन्न पुरस्कारहरू हात पार्नेछन्।
यस संस्करणदेखि भारतसँग सहकार्य गर्दै प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको उनले बताए।
संस्थापक अधिकारीका अनुसार यस्ता सौन्दर्य प्रतियोगिताले सौन्दर्य मात्र नभई सांस्कृतिक आदान–प्रदान र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।
विजेतालाई श्री ओम ज्वेलर्सले डिजाइन गरेको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको आकर्षक क्राउन प्रदान गरिएको थियो।