– सन्दिप पराजुली ।
“संकटमा छायाँजस्तै संगै रहने साथी नै असली साथी हो, र यस्तो साथी पाउनु जीवनको सबैभन्दा ठूलो सौभाग्य हो।”
मित्रता जीवनको त्यो अमूल्य उपहार हो, जुन समय, दूरी वा अवस्था कसैले च्युत गर्न सक्दैन। साँचो मित्रता रमाइलो क्षणमा मात्र होइन, मौनता र आँशुको बिचमा पनि मजबुत रहन्छ। जीवनका उतारचढावमा जब हामी थाक्दछौँ, तब सहारा बन्ने त्यो विश्वासिलो काँध नै साँचो मित्र हो।
तर, यही अमूल्य सम्बन्ध कहिलेकाहीँ अहंकारको हल्का स्पर्शले पनि चकनाचुर हुन सक्छ। जब संवादको साटो मौनता हुन्छ, जब आत्माभन्दा ‘ईगो’ ठूलो हुन्छ—त्यति बेला मित्रता चिसिँदै जान्छ।
साँचो मित्रता नापिने चिज होइन,न त सन्देशको संख्या, न त भेटघाटको नियमितता। त्यो त भावना हो, जुन दुरीभन्दा गहिरो हुन्छ, मौनताभन्दा स्पष्ट हुन्छ। कहिलेकाहीँ त महिनौँ संवाद नहुन सक्छ, तर मनको एक कुनामा त्यो सम्बन्ध सजीव रहन्छ। साँचो मित्रता त्यो हो,जहाँ क्षमाशीलता हुन्छ, जहाँ ‘अहं’ भन्दा सम्बन्ध ठूलो हुन्छ। सम्बन्ध जोगाउन आत्माभन्दा एकपल्ट झुक्न सक्नु नै मित्रताको असल परिभाषा हो।
अहंकार: मित्रताको अदृश्य शत्रु
मित्रता जति मजबुत हुन्छ, त्यति नै नाजुक पनि हुन सक्छ। विश्वास, इमानदारी, र समझदारीले बनेको यो सम्बन्ध कहिलेकाहीँ एक सानो अहंकारले भत्किन सक्छ।
मित्रता भत्काउने अहंकारका कारणहरू:
1. स्वार्थपरक सोच – केवल आफ्नो दृष्टिकोणलाई सर्वोपरि ठान्दा अरूको भावनालाई बेवास्ता गरिन्छ।
2. गल्ती स्वीकार नगर्ने प्रवृत्ति – सानो असमझदारीमा पनि माफी माग्न नसक्नु।
3. प्रतिस्पर्धाको भावना – साथ दिने साटो प्रतिस्पर्धी देख्ने सोच।
4. माफी दिन वा लिन नसक्ने बानी – अहंकारका कारण सानो मनमुटाव पनि स्थायी दूरीमा परिणत हुन्छ।
⸻
एक कथाः ‘A’ को मौनता
(यो कथा यथार्थसँग मिल्दोजुल्दो भएकाले सम्बन्धित व्यक्तिहरूको वास्तविक नाम गोप्य राख्नु उचित लागेर, ‘ABCD’ भनेर सम्बोधन रोजेँ )
चार मित्र A, B, C, र D। उनीहरूको मित्रता गहिरो थियो,साझा हाँसो, आँसु, र रमाइलो क्षणहरूमा भरिएको।
समय वित्दै जादा B र C नजिकिए। A ले असहज महसुस गर्यो,उपेक्षित महसुस हुन थाल्यो।
तर उसले केही बोलेन। न संवाद गर्यो, न भावनाहरू बाँड्यो। मौन बस्यो र बिस्तारै बिस्तारै टाढिँदै गयो।
B, C र D ले A को मौनता बुझेनन्।
उनीहरू व्यस्त भए,जीवनका आफ्नै यात्रामा।
A ले सबै कुरा मनमा थामिरह्यो,एकोहोरो व्याख्या गर्दै।
अन्ततः, A एक्लो भयो।
तर त्यो एक्लोपन वास्तविकता होइन, उसकै अहंकारले सिर्जेको पीडा थियो।
उसले संवादको साटो अनुमानमा भरोसा गर्यो।
उसले आफूलाई कमजोर देखाउन चाहेन, तर मौनताले उसलाई अझ कमजोर बनायो।
कहिलेकाहीँ, मौनताभित्र लुकेको अपेक्षा र पीडाले सम्बन्धलाई बिथोल्छ।
शायद, एक प्रश्न—“तिमीहरू परिवर्तन भएको जस्तो लाग्छ”भनेको भए, कथाको अन्त फरक हुन सक्थ्यो।
समय बित्दै गयो। परिस्थिति बदलिँदै गयो।
एकदिन A ले आफ्नो मौनताको चक्रव्यूह चिर्न खोज्यो,पुरानो स्थानमा फर्कन प्रयास गर्यो।
तर त्यो ठाउँ जस्तो थियो, अब त्यस्तो रहेन।
जीवन अगाडि बढिसकेको थियो।
अवसर थियो, तर त्यो क्षण गुमाइसकेको थियो।
समयमै कुरा गरिनु पर्छ, किनकि मौनताको मूल्य कहिलेकाहीँ धेरै महँगो पर्छ।
सम्बन्ध टिकाउन, बुझिनु मात्र होइन,बोलिनु पनि जरुरी हुन्छ।
⸻
मित्रता: एक दीर्घकालीन लगानी
साँचो मित्रताले तनाव कम गर्छ, आत्मविश्वास बढाउँछ, र जीवनलाई अर्थपूर्ण बनाउँछ। हार्वर्ड विश्वविद्यालयको Study of Adult Development अनुसार ८० वर्ष लामो अनुसन्धानले देखाएको छ कि जीवनमा खुशी र स्वास्थ्यको प्रमुख आधार भनेको बलियो सम्बन्धहरू नै हुन्।
धन, प्रतिष्ठा र सफलता क्षणिक हुन सक्छन्, तर साँचो मित्रता नै दीर्घकालीन सन्तोषको मूल आधार हो। जब जीवन अनिश्चितताको भुमरीमा फस्छ, त्यही पुरानो मित्रको आत्मीय मुस्कानले आत्मामा शान्ति ल्याउँछ।
मित्रता कुनै व्यापार होइन, जहाँ लाभहानिको हिसाब गरिन्छ; यो त नाफा सधैं भावनामा गनिन्छ। “Friendship is born at that moment when one person says to another: ‘What! You too? I thought I was the only one.’” C.S. Lewis
साँचो मित्रता एक यस्तो लगानी हो, जसमा न ब्याज लाग्छ, न मूल्य घट्छ—बरु समयसँगै बढ्दै जान्छ। यो सम्बन्ध विश्वास, समझदारी र सहानुभूतिको जगमा उभिएको हुन्छ।
“Walking with a friend in the dark is better than walking alone in the light.” — Helen Keller
मित्रता जीवनको त्यो सहयात्री हो, जसले साथ मात्र दिँदैन, सम्हाल्न पनि जान्दछ। यस्ता सम्बन्धहरू जीवनको अन्तिम क्षणसम्म मनको कुनामा उज्यालो भएर बसिरहन्छन्। जब सबै कुरा गुमिरहेको जस्तो लाग्छ, त्यतिबेला साँचो मित्रता नै आशाको दियो बन्न आउँछ—न त सोध्छ, न त शर्त राख्छ, केवल साथ दिन्छ।
⸻
मित्रताको जरा बलियो बनाउने सुत्रहरू
साँचो मित्रता आफै फुल्दैन; यसलाई माया, समझदारी, र निरन्तर ध्यानले सिंच्नु पर्छ। सम्बन्ध बलियो बनाउन चाहिने कुरा केवल साथ भएर बस्नु होइन, भावनात्मक रूपमा उपस्थित हुनु हो।
१. सुन्ने कला ,मौनतालाई महसुस गर्ने संवेदना:
कहिलेकाहीँ “म तिमीलाई सुनिरहेको छु” भन्ने एक वाक्यले गहिरो सम्बन्ध बनाउँछ। साँचो मित्रता केवल बोलिने कुरामा सीमित हुँदैन,यो त मौनताभित्र लुकेको भावना बुझ्न सक्ने अन्तरदृष्टि हो।
२. इमानदारी र स्पष्टता :
मित्रता सत्यको भूमि हो, झुटको होइन। कहिलेकाहीँ सत्य अप्ठ्यारो लाग्न सक्छ, तर पारदर्शिता नै सम्बन्धलाई बलियो बनाउने खम्बा हो। जहाँ विश्वास हुन्छ, त्यहाँ डर हुँदैन।
३. समय ,उपस्थितिको महत्व:
जीवन जति व्यस्त भए पनि, एक सन्देश—“तिमी सम्झनामा छौ”—ले सम्बन्धमा न्यानोपन ल्याउँछ। मित्रता कहिले-काहीँ समयको सानो अंश माग्छ, तर त्यो असर गहिरो पार्छ।
४. क्षमा , परिपक्वता:
मित्रता कुनै परिपूर्ण सम्बन्ध होइन। गल्ती त हुन्छन्, तर त्यही भूललाई अँगाल्ने र स्वीकार्ने मनोवृत्तिले मित्रताको असलता झल्काउँछ।
५. परिवर्तनलाई अँगाल्ने लचकता:
समयसँगै मानिस बदलिन्छन्—सोच, रुचि, व्यवहार। तर साँचो मित्रता त्यो परिवर्तनसँग सँगै हिँड्न जान्दछ। परिवर्तनलाई स्वीकृति दिन सक्नु, सम्बन्धको स्थायित्वप्रतिको प्रतिबद्धता हो।
⸻
साँचो र बनावटी मित्र:विच भिन्नता
सबैजसो मानिसहरूसँग हाम्रो बाटो त काटिन्छ, तर हरेक व्यक्ति हृदयसम्म पुग्दैन। समय, परिस्थिति, र अनुभवले मात्र देखाउँछ—को साँचो मित्र हो, र को केवल अवसरको लागि आएका छायाँ मात्र।
बनावटी मित्रता चिन्ने केही संकेतहरू:
• तपाईंको सफलतामा मात्र नजिक हुने, असफलतामा अदृश्य हुने।
• बोलीमा मिठास, तर पछाडिबाट आलोचना।
• तपाईंको हरेक खुसीसँग तुलना गर्दै, आफूलाई कमजोर नठान्ने प्रयास।
• केवल आवश्यक परेको बेला मात्र सम्झिने।
• तपाईं दुःखी हुँदा मौन, टाढा र अनुपस्थित।
साँचो मित्रताको विशेषता:
साँचो मित्र त्यो हो, जसले तपाईंको मौनतालाई पनि सुन्छ, र तपाईंका आँखा भिज्दा मन भिज्छ।
• ईमानदारी: मिठासले होइन, सत्यले सम्बन्ध बच्छ। “True friendship can afford true knowledge. It does not depend on darkness and ignorance.” — Henry David Thoreau
• निःस्वार्थता: बिना स्वार्थको साथ, जहाँ सम्बन्ध प्रतिस्पर्धा होइन, सहयात्रा हो।
• संकटको साथीसँगै: “Hard times will always reveal true friends.”
• खुसीमा खुलेर रमाउने स्वभाव: साँचो मित्र तपाईंको सफलता देखेर हर्षित हुन्छ, न कि असुरक्षित।
• दुःखमा काँध दिने हिम्मत: जब संसार टाढा जान्छ, साँचो मित्र अझ नजिकिन्छ।
अन्ततः, मित्रता संख्या होइन, गहिराइ हो। को साथ छ भन्नेभन्दा, को कहिल्यै टाढा जान्दैन,त्यो बुझ्न सक्नु नै असली मित्रताको सार हो।
⸻
अन्ततः…
मित्रता जीवनको त्यो अमूल्य निधि हो, जुन समयको बहाव, परिस्थितिको चुनौती, वा दूरीको बाधाले पनि क्षीण गर्न सक्दैन। तर, मित्रता आफैँ बाँच्दैन,यसलाई साँचो भावना, संवाद, समझदारी र आत्ममूल्यांकनले जगेर्ना गर्नुपर्छ। एउटा सानो अहंकार, मौनतामा लुकेको अपेक्षा, वा क्षमा माग्न नसक्ने हठले जीवनको गहिरो सम्बन्ध चटक्क टुट्न सक्छ। कहिलेकाहीँ संवादको साटो मौनता र अनुमानले मित्रताको संसारमा गहिरो दरार ल्याउँछ।
जीवनका उतारचढावमा हामीलाई साथ दिने मित्र भनेको केवल हाँसोको साथी होइन, आँशु पुछ्ने हात पनि हो। साँचो मित्रता स्थायीताको प्रतीक हो, जसले समयसँगै गहिरो अनुभूति दिन्छ। यस्तो सम्बन्ध सजिलोसँग भेटिँदैन, त्यसैले यदि तपाईंको जीवनमा यस्तो कोही छ भने—बोल्नुहोस्, सुनिनुहोस्, झुक्न जान्नुस्, क्षमा गर्न र पाउँन तयार रहनुहोस्। किनभने मित्रता व्यापार होइन, भावना हो,जहाँ न त लेनदेन हुन्छ, न त हिसाबकिताब। केवल विश्वास, समझदारी र आत्मीयता हुन्छ।
अन्ततः, मित्रता जीवनको त्यो उज्यालो छाया हो, जुन साँझ परेपछि अझ चम्कन्छ।
“धनले होइन, सम्बन्धहरूले जीवन धनी बन्छ।”



