काठमाडौं : काठमाडौंको पर्यटकीय स्थल धरहरा शनिबार ३ हजार ५ सय ७ जनाले अवलोकन गरेका छन् । साउन १ बाट धरहरा खुल्ने समय बढेसँगै धरहरा चढ्नेको साख्या पनि बढेको छ ।

साउन १ गते २५ सय जनाले, २ गते २ हजार ६ सय ३१ र ३ गते ३ हजार ५ सय ७ जनाले अवलोकन गरेको धरहरा सञ्चालन तथा व्यवस्थापन इकाइ सुन्धाराका प्रमुख महेश राईले जानकारी दिए । साउन १ देखि ३ गतेसम्ममा १५ लाख ५६ हजार ६ सय ५० रुपैयाँ संकलन भएको छ ।

धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरुको सँख्या दोब्बर बढीले वृद्धि भएको छ । साउन १ गतेबाट धरहरा विहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ला गरिएको छ ।

‘विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म टिकट खुल्छ । विहान साढे ८ देखि बेलुकी ८ बजेसम्म अहिले सेवाग्राहीले धरहरा चढिरहनुभएको छ,’ इकाई प्रमुख राइले भने, ‘समय थप हुँदा निक्कै राम्रो भएको छ । धरहरा हेर्न आउनेहरुको सँख्या विगतमा भन्दा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ ।’ पहिला धरहरा दैनिक बिहान १० देखि बेलुका ४ बजेसम्म खुला गरिएकोमा अहिले समय थप गरिएको हो । पहिला दैनिक करिब १२ सयले धरहरा अवलोकन गर्ने गरेकोमा पछिल्लो ३ दिनमा ८ हजार ६ सय ३८ जनाले अवलोकन गरेका छन् ।

धरहरा अवलोकनका क्रममा भेटिएकी धादिङकी कल्पना तामाङले धरहरा चढ्दा दिउँसो भन्दा बेलुका रमाइलो लागेको बताइन् । ‘बेलुकाको काठमाडौंको झिलिमिली दृश्य धरहराबाट हेर्दा एकदमै मनमोहक देखिँदो रहेछ । विहान,दिउँसो भन्दा बुलकाको दृश्य झनै राम्रो लाग्यो,’ उनले आफ्नो भनुभव सुनाइन् । ०८१ मंसिर देखि ०८२ असार मसान्तसम्ममा ५ करोड १२ लाख ६२ हजार ९ सय ९५ रुपैयाँ धरहरा चढ्नेहरुबाट संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको