पुनम गाैतम / नबाेली बसौँ भनेको मनले मानेन। विगतका वर्षहरूदेखि विदेशमा बस्ने नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA) मा आबद्ध भएर के–कति राम्रा–नराम्रा काम गरेँ, त्यो यही समाजलाई थाहा होला। तर पछिल्लो २०२३–२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडि जानुपर्छ भनियो। समाज मिल्छ, टुक्रिएको संस्था एक हुन्छ भने समाजसेवा गर्न जुनसुकै पद लिए पनि उही ठान्दै तल झारिएको पदीय जिम्मेवारीलाई सहर्ष स्वीकार गरेँ।

नवौं राष्ट्रिय महाधिवेशनबाट ५१ सदस्यीय जम्बो टोली गठन भयो, तर समस्या उही। ५१ जनाको समिति भए पनि कैयौं सदस्यहरू कहिल्यै मिटिङमा देखिएनन्। मान्छे जति, कुरा र अर्थविहीन चुरो। पहिलो एक वर्षमा सकेसम्मको समय दिइयो, र देशमा नरहँदा बाहेक कुनै मिटिङ छुटाइएन। मिटिङमा “म यो पार्टीको, म त्यो पार्टीको” भन्ने कुरा बारम्बार आयो। समितिमा न त समाज बुझेका, न त संस्था। बिना तुकका टिप्पणी र विश्लेषण मात्र भए। जुन पदका लागि निर्वाचित भएका थियौं, त्यो पदीय जिम्मेवारी वहन गर्ने कोही देखिएन।

त्यति मात्रै कहाँ हो र? अर्थविहीन टीका–टिप्पणी गर्दै सामाजिक सञ्जाल रंगाउने र उक्साउनेहरू मात्र देखिए। यस्तै हुँदै जाँदा एक वर्षे कार्यकाल सकियो। तर साधारण सभा गरेर दोस्रो कार्यकालको जिम्मेवारी सुम्पिनुपर्ने पहिलो कार्यकालका अध्यक्ष उमेश खड्काले जिम्मेवारी वहन गर्न सक्नुभएन।

पोर्तुगलका लागि केन्द्रीय सदस्य आइसीसीज्यूको नेतृत्वमा पुस्तक निकाल्ने भनियो र सोही अनुरूप पुस्तक तयार पारियो, तर विमोचन एकलौटी ढंगले गरियो। न त आय–व्ययको लेखाजोखा नै गरियो। पूर्व अध्यक्ष खड्काले समाजलाई नकार्दै केही मातहत व्यक्तिहरू लिएर आफैँ हिँड्नुभयो। न त समाजलाई टेर्नुभयो, न नैतिकताको परवाह गर्नुभयो। संस्थापक अध्यक्ष लगायत पूर्व अध्यक्षलाई भेट्ने भन्दै आलटाल गरिरहनुभयो।

पोर्तुगलमा विकराल समस्या बनेको पासपोर्ट टोली ल्याएर काम सकिएपछि जिम्मेवारी हस्तान्तरण गर्ने मौखिक सहमति भयो। हामीले ARI मा रहेको कार्यालयमा पासपोर्ट टोली आउने जानकारी समूहमा देख्यौं। टोली आउँदा समूहमा सबै साथीहरूलाई स्वेच्छिक सेवा गर्न अनुरोध गरियो। त्यसै अनुसार म पनि कार्यालय गइयो, तर त्यहाँको माहोल अर्कै रहेछ।

भित्र प्रवेशमा रोक लगाइयो। “अध्यक्षले कसैलाई भित्र छिर्न नदिने भनेका छन्” भनेर हुकुम सुनाइयो। हेर्दा बाउन्सर जस्ता देखिनेहरूले मलाई रोक लगाए। भनियो– कार्यसमितिका जो भए पनि छिर्न नदिनू भन्ने आदेश आएको छ।

म अचम्ममा परेँ! उपाध्यक्षलाई कार्यसमिति बाहिरका मान्छेले आफ्नै कार्यालयमा छिर्न नदिने? यो त राणा शासन जस्तै भयो भनेर समूहमा लेखेँ। त्यसपछि हल्ला–खल्ला भयो। केही आसेपासेहरूले “खाउजस्तै गरी” संवाद दिएर जाई लागे।

अहिले सबैले जिकिर गर्ने कुरा भनेकै पासपोर्ट काण्ड र घोटाला हो। तर कोही किन बोल्दैन? बोल्नेले त पोलिन्छ भन्ने जस्तो अवस्था भयो। भ्रष्टाचार मौलाउँदै छ, खुल्ला रूपमा समाजमा छाती फुलाएर हिंड्नेहरू छन्। तर त्यसविरुद्ध कसले कारवाही गर्छ?
संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले आइसीसी राजकुमार थापाले आफू कोषाध्यक्ष हुँ भन्दै कोषको पैसा हिनामिना गरेको पाइएको बताए। फेरि दोस्रो कार्यकाल दिने कुरा आयो तर फेरि उही आनाकानी। संस्थापक, पूर्वअध्यक्ष सबैको बेवास्ता। नैतिकता नै नभएझैँ व्यवहार देखियो।

संसार हाक्न सक्छु भन्ने नारीलाई पनि बारम्बार बलिको बोका बनाइयो। एउटै कार्यालयमा सहकार्य गर्ने क्रममा नारीमाथि अन्याय, अपमान भयो। सार्वजनिक रूपमा अपशब्द र गाली गर्नेहरूलाई यो समाजले नै पूज्यो। भ्रष्टाचार गर्नेलाई मलजल गर्यो।
अनि संस्था कसरी राम्रो रहला? नराम्रो गर्नेहरूलाई समाजले बहिष्कार गर्न सक्छ भने गर्नुपर्छ, होइन भने गर्नेहरूलाई साथ दिनुपर्छ।

हिजो के गर्‍यो होइन, भोलि राम्रो गर्छु भनेर हिँड्नुपर्छ। नारी प्रतिनिधित्व भएको ठाउँमा नारीहरुकै विरोध भयो। समाज मिलाउनुपर्छ भन्ने कुरा मुखले होइन, व्यवहारमा देखाउनुपर्छ। महिनामा २–३ वटा शव एनआरएनएले उठाउनुपर्छ, तर त्यसै शवमाथि घिनलाग्दो राजनीति गरिन्छ।

एनआरएनएमा समाजसेवा गर्न आउनेहरूलाई काम गर्न दिऊँ। नगर्नेहरू र गर्न नदिनेहरूबाट समाज मुक्त गरौँ। नवौं अधिवेशनबाट जोजति आयौँ, देखिने गरी काम कसैले गर्न सकेनन्। तर सन् २०२३–२०२५ को कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकालकी अध्यक्ष दीपा काफ्लेले भने भरपुर समय दिइन्, काम गरिन्।
नारी भएकै कारण औँलामा गन्न सकिने समाज र व्यक्तिहरूको मात्रै समर्थन रह्यो अध्यक्ष काफ्लेलाई। तर पनि उनले हिम्मत हारिनन्। अन्तिम समयसम्म पनि लागिरहिन्।

तर, दुर्भाग्यवश, अध्यक्ष हुँ भनेर खुलेर काम गर्न दिइएन। कार्यकाल पूरा गर्नै नदिई अपूरोमै बित्यो — सन् २०२३–२०२५।
यदि यस्तै रहिरहने हो भने समाजसेवा गर्छु भनेर आउनेहरूको के अर्थ? समितिमा आउनेहरू आफैं नगर्ने, गर्नेहरूलाई पनि गर्न नदिने? त्यसले संस्था बिगार्छ। एनआरएनएमा “गर्छु” भन्ने, जुझारु युवाको खाँचो छ।

हातमा हात, साथमा साथ दिन सक्नेहरू मात्र आउनुहोस्।
अन्त्यमा, २०२५–२०२७ कार्यकालमा जिम्मेवारी सम्हाल्न लाग्नु भएका सम्पूर्णलाई हार्दिक बधाई! तपाईंहरूको कार्यकाल दृढ, पारदर्शी र प्रभावशाली होस् भन्ने शुभकामना।

(गाैतम गैरआवासीय नेपाली संघ (NRNA), पोर्तुगलकी उपाध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको