आज २०२५ जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसरमा भरतपुर–११ स्थित श्री नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयको सहयोगमा विशेष प्लास्टिक प्रदूषण र जलवायु परिवर्तन सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।यस वर्षको विश्व वातावरण दिवसको विषय वस्तु प्लास्टिक प्रदूषणलाई कम गर्ने अभियान रहेको छ। कार्यक्रमले वातावरणीय संरक्षणका लागि प्लास्टिकन्यूनीकरणको आवश्यकता र जलवायु परिवर्तन सँग यसको सम्बन्धबारे विद्यार्थी तथा समुदायमा व्यापक चेतना फैलाएको छ।कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए।
कार्यक्रमको सञ्चालन अमितबाबु तिवारीले गर्नुभयो भने प्राविधिक सहयोग अस्मिता तिवारी र किरण बानियाँले प्रदान गर्नुभएको थियो।प्रमुख वक्ताकारूपमा उपस्थित सपना भट्टराई बायोडाइभर्सिटी तथा वातावरण व्यवस्थापनमा स्नातकोत्तर, तथा जलवायु अभियन्ताले प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका प्रभावहरू बारे वैज्ञानिक दृष्टिकोण सहित महत्वपूर्ण प्रस्तुति दिनुभयो। उहाँले युवाहरूले प्लास्टिक प्रयोग घटाएर र वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो।कार्यक्रममा विद्यालयका उप प्रधानाध्यापक कुस्मखर न्यौपानेले पनि सक्रिय सहभागिता जनाउनुभयो र विद्यार्थी तथा आयोजकहरूलाई प्रोत्साहित गर्नुभयो।कार्यक्रमको औपचारिक समापन विद्यालयका प्रधानाध्यापक श्री रामेश्वर अधिकारीले गर्नुभयो। उहाँले विद्यालयले वातावरण संरक्षणका अभियानमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।विद्यालय, शिक्षक र विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न यो कार्यक्रमले जलवायु परिवर्तन तथा वातावरणीय चुनौतीहरूबारे सचेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको आयोजकहरूले जनाएका छन्।



