मकवानपुर । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ भव्य रूपमा मनाउन प्रदेशस्तरीय मूल समारोह समिति गठन गरेको छ। समितिको संयोजकत्व मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ छन्। समितिले जेठ १३ देखि १५ गतेसम्म प्रदेश राजधानी हेटौँडामा विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको समितिको निर्णयअनुसार बागमती खेलकुद परिषद्को आयोजनामा खेलकुद प्रतियोगिता तथा सामाजिक विकास मन्त्रालयको संयोजनमा निबन्ध प्रतियोगिता, चित्रकला प्रदर्शनीजस्ता कार्यक्रमहरू गरिनेछ।
आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेका अनुसार, १५ गते बिहान प्रभातफेरी, प्रवचनलगायतका कार्यक्रम हेटौँडामा आयोजना गरिनेछ।
समितिमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू, हेटौँडा उपमहानगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू सदस्य रहेका छन्।



