काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै सम्पन्न एकता महाधिवेशनबाट अनुभवी अभियन्ता मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। विगत लामो समयदेखि विवादित र अस्थिर बन्दै गएको एन आर एन ए अभियानमा श्रेष्ठको निर्विरोध चयनले एनआरएनएको नेतृत्व तहमा एक अनुभवी, निडर र समर्पित व्यक्तित्वको उदय भएको बताइएको छ। विगत १६ वर्ष देखि युएई लाई कर्म थलो बनाई प्रवासमा रहेका नेपालीको हकहितका लागि निरन्तर सक्रिय रहेका श्रेष्ठले संगठनको विभिन्न तहमा काम गर्दै आएका छन्। त्यतिमात्र नभई २०७२ सालको भूकम्प,अनि बेला बखत आउने बाढी पहिरो, कोभिड १९ बखतमा देश भित्र पनि उनको सक्रिय भूमिकाको चौतर्फी प्रसंशा हुने गरेको छ ।

श्रेष्ठको एनआरएनए यात्राले संगठनमा निरन्तर योगदान, नेतृत्व क्षमताको विकास र सेवा भावको स्पष्ट झल्को दिन्छ।

*१४ वर्ष लामो सक्रियता र पाँच प्रमुख नेतृत्व अनुभव

*१. एन आर एन ए, एनसीसी उपाध्यक्ष (युएई, २०११- २०१३):*
मनोज कुमार श्रेष्ठले एनआरएनएको नेतृत्व यात्रा युएईमा एनसीसी उपाध्यक्षका रूपमा सुरु गरे। त्यहाँ उनले नेपाली मजदुरहरूको सामाजिक, आर्थिक र कानुनी हकहितमा उल्लेखनीय योगदान गरे।

*२. एन आर एन ए, आईसीसी सदस्य (२०१७-२०१९):*
राष्ट्रिय तह को अनुभव लिए पश्चात अन्तर्राष्ट्रिय तहमा प्रवेश गर्दै श्रेष्ठले गैर आवासीय नेपालीहरुको हक हितका नीति निर्माण, संस्थागत समन्वय र रणनीतिक अभियानहरूमा सक्रिय भूमिका खेले। पारिवारिक कारणले विदेशिएका क्षमतावान् खेलाडीहरू लाई स्पोर्ट्स एकाडेमीमा आबद्द गराई राष्ट्रिय खेलकुदमा समावेश गर्दै आई सी सी को खेलकुद विभागमा रही ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा संयोजकको सक्रिय भूमिकाले गर्दा १६ वटा पदक जित्न एन आर एन टीम सफल भएको थियो भने उनले खेलेको प्रभावकारी भूमिकाको अहिले पनि चर्चा हुने गर्दछ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि श्रेष्ठ संयोजक को भुमिका मा रही एन आर एन ए टीम २४ वटा पदक जित्न सफल भएको थियो ।

*३. मध्यपूर्व उप–संयोजक (२०१९-२०२१):*
श्रेष्ठको यो कार्यकाल कोभिड १९ सँग लड्दा लड्दै बित्यो । यू ए ई मा एक टास्क फोर्स बनाई उनको नेतृत्वमा राहात वितरण गरियो । अक्सिजन सिलिन्डरको कमी भएको बेला मध्यपुर्बका तत्कालिन संयोजक आर.के.शर्मा ज्युको नेतृत्वमा
श्रेष्ठकै सह-संयोजनमा समग्र मध्यपूर्व एकजुट भएर नेपालमा सिलिन्डर पठाइएको थियो ।

*४. मध्यपूर्व संयोजक (२०२१-२०२३):*
उप–संयोजकबाट संयोजक पदमा पदोन्नति भएपछि उनले उक्त क्षेत्रका सबै सातै वटा एन सी सी हरुको भ्रमण गरे जसमा कठिन र जोखिमपूर्ण देश इराक समेत सामेल छ । एन आर एन ए गठन भए पश्चात यसरी मध्यपूर्व क्षेत्रका सबै एन सी सी हरुको भ्रमण गर्ने श्रेष्ठ पहिलो क्षेत्रीय संयोजक बनेका छन् । उनकै पहलमा २०२३ को एन सी सी अधिवेशन मा कतार बाहेक सबै एन सी सी हरु निर्विरोध रुपमा निर्वाचित भएर श्रमिकको लाखौं डलर जोगिएको छ । (नत्र चुनाव गराउन भेरो लाई लाखौं डलर तिर्नु पर्थ्यो) । एन आर एन ए पूर्व उपाध्यक्ष डी वि क्षेत्रीले बर्सौ देखि शुरू गरेको हजारे अभियानको मनोजको संयोजकत्वमा २०२३ मा मध्यपूर्वको ओमनमा ( मस्क्ट भेला-२०२३) आयोजित क्षेत्रीय भेलाद्धारा अनुमोदित भएपछि नेपाल सरकारले त्यही हजारे अभियानलाई सामाजिक सुरक्षा कोष भनेर स्थापना गरेको हो । स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई चरितार्थ गर्दै उनको कार्यकालमा विभिन्न ठूला खेलकुद प्रतियोगिता हरु आयोजना भए, त्यति मात्र नभएर एनआरएनएको सबैभन्दा सक्रिय, सशक्त र संगठित क्षेत्रको रुपमा उनले मध्यपूर्व लाई उभ्याउन सफल भए ।

*५. आईसीसी प्रथम सचिव (२०२३-२०२५):*
मध्यपुर्व संयोजक भए देखि नै उनी विभिन्न देशहरूको भ्रमणमा चासो राख्दथे जसले गर्दा उनलाई विभिन्न क्षेत्र युरोप, मध्यपुर्व, एशिया प्यासिफिक अनि अफ्रिकामा रहने श्रमिक हरुका समस्या बुझ्न सजिलो भयो । यस कार्यकालमा कार्यसम्पादन संयोजन, आन्तरिक अनुशासन, पारदर्शिता र कूटनीतिक सम्वन्ध सुदृढीकरणमा उनले नयाँ अभ्यास प्रारम्भ गरे।

*२०२५ मा उपाध्यक्ष पदमा निर्विरोध विजयी*

मनोज कुमार श्रेष्ठ निर्विरोध विजयी हुनु आफैँमा संगठनभित्रको व्यापक समर्थन र उनप्रति रहेको एन आर एन ए अभियानको विश्वासको प्रमाण हो। निर्वाचनपछि प्रतिक्रिया दिँदै उनले भने, “एनआरएनए मेरो लागि कुनै पद होइन, यो त पीडा बोकेका लाखौँ प्रवासी नेपालीको आवाज हो। म नेतृत्व गर्न होइन, सेवा गर्न आएको हुँ।”

श्रेष्ठले आफ्नो नेतृत्वकालमा यी विषयलाई प्राथमिकता दिने स्पष्ट संकेत दिएका छन्-

*श्रमिक हितमा नीतिगत सुधार:* खाडी तथा अन्य श्रमिक गन्तव्य राष्ट्रहरूमा कार्यरत नेपालीहरूलाई सुरक्षा, सहयोग र न्यायको प्रत्याभूति दिलाउने योजनामा उनी स्पष्ट छन्।

*युवा तथा महिलाको समावेशिता:* एनआरएनए नेतृत्व संरचनामा युवाहरू र महिलाको सक्रिय सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्।

*आर्थिक कूटनीति र लगानी प्रवर्द्धन:* प्रवासी नेपालीहरूलाई उद्यमशीलता, लगानी र आर्थिक सम्बन्धमा प्रेरित गर्न विश्वव्यापी आर्थिक अभियान संचालन गर्ने तयारी उनले गरिरहेका छन्।

*संस्थाको राजनीतिक निष्पक्षता र पारदर्शिता:* एनआरएनएलाई राजनीतिक प्रभावबाट टाढा राख्दै पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने अठोट श्रेष्ठको स्पष्ट छ।

*डिजिटल र नवप्रवर्तनशील संरचना निर्माण:* मनोज आफै पनि तकनीकी उद्यमी भएको हुनाले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई प्रभावकारी र पहुँचयोग्य बनाउन उनी प्रतिबद्ध छन्। श्रेष्ठको नेतृत्वको आगमनसँगै प्रवासमा मात्र नभएर देश भित्र पनि प्रविधिको उच्चतम प्रयोग र प्रविधिको आयात अनि निर्यातमा उनले वर्षौ देखि कोरेको खाकाले अब भए मूर्त रूप लिनेछ भनेर विश्वास गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको