
काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताउनुभएकाे छ । काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत वडा नं १० बुद्दनगरमा ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहित शुरू भएको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्ताे बताउनुभयाे ।
नदी सफा गर्न सिधै ढल मिसाउने अवस्था अन्त्य गर्नुपर्नेमा जाेड दिँदै उपप्रधानमन्त्री सिंहले आफूले मन्त्री भएदेखिनै उपत्यकाका नदी प्रणााली स्वच्छ र सफा बनाउनुपर्नेमा जाेड दिइरहेकाे पनि जानकारी गराउनुभयाे । `नदिमा सिधै ढल मिसाउन राेक्नैपर्छ । सरकारले धेरै लगानी गरिसकेकाे छ । तर, कार्यान्वयनमा कमीकमजोरी भएकाे कारणले हाे कि अब विगतमा भएका गल्ती सच्याउने बेला आइसकेकाे छ ,´ उहाँले भन्नुभयाे,`बाग्मति, विष्णुमति, मनाेहरा, धाेबिखाेलालगायतका उपत्यकाका नदी सफा राख्न यसवर्ष शहरी विकास मन्त्रालयले ठाेस कार्यक्रम ल्याउने पनि यहाँहरूलाई जानकारी गराउँदछु ।´
उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले बुद्दनगर सफाइ अभियान चलाइरहेकाेमा बधाई दिनुभयाे । अहिले कामनै नभएकाेजस्ताे गरि हल्ला गरिएकाेभन्दै उहाँले यथार्थ के हाे बुझ्नुपर्नेमा जाेड दिनुभयाे । ` काम नभएकाे हाेइन भएकाे छ । भएकाे कामलाई भयाे भनेर कन्सिडर पनि गर्नुपर्छ,´ उहाँले भन्नुभयाे ।