तनहुँ : भानु मार्गको कामलाई तीव्र रुपमा अगाडि बढाउन भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आफ्नाे खेत धिताेमा राखेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित मेयर त्रिपाठीले लामाे समयदेखि राेकिएकाे साे सडककाे निर्माण सुचारु गर्न खेत धितोमा राखेर ऋण लिई ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको छ ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले नामकरण गरिएको सो मार्गको निर्माण कम्पनीलाई भुक्तानी नभएको जनाउँदै पछिल्लो समय काम रोकिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितोमा राखेर ठेकेदारलाई भुक्तानी दिएपछि कामले गति लिएको हो ।

नगरवासीले भोग्नुपरेको सास्तीलाई सहज बनाउन रकम अभावले सडक निर्माणमा विलम्ब भएपछि उनले खेत धितो राखेर भुक्तानी दिने र जमानी बसेर निर्माणको सामग्री उपलब्ध गराएपछि कामले तीव्रता पाएको छ । ‘वर्षायाम लाग्ने बेला हुँदासमेत सडक अलपत्र भएपछि यस्तो निर्माण गरेको हुँ, नगरवासीलाई सहज यात्रा गर्ने वातावरण बनाउने दायित्व पूरा गरिरहेको छु’, नगर प्रमुख त्रिपाठीले भने ।

काम छिटो पूरा गर्न ठेकेदारलाई निर्माण सामग्री खरिद गर्नको लागि रकम अभाव नहोस् भनेर नगर प्रमुख त्रिपाठीले रकम भुक्तानी दिएको भानु –१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए ।

उनका अनुसार नगर प्रमुख त्रिपाठीले निर्माणको लागि आवश्यक इन्धन जमानी बसेर ठेकेदारलाई उपलब्ध गराएका छन् ।

ठेकेदारलाई काम गर्न सहज होस् भनेर रु १५ लाख बराबरको सिमेन्टको समेत जमानी लिई व्यवसायीसँग निर्माण सामग्री लगेर काम दु्रत गतिमा काम भइरहेको वडाध्यक्ष अधिकारीले बताए ।

‘नगर प्रमुखले ऋण लिएर ठेकेदारले रकम दिएसँगै काम तदारुकताका साथ काम भइरहेको छ’, उनले भने । सरकार प्राप्त हुने भुक्तानी आउन समय लाग्ने भएकाले काम प्रभावित नहोस् भनेर भानु –२ स्थित भानु बचत तथा ऋण सहकारीमा खेत धितो राखेर रु १० लाख ऋण लिएर ठेकेदारलाई भुक्तानी दिएको नगर प्रमुख त्रिपाठीले बताए ।

‘रकम अभाव भएमा ठेकेदारले समयमा काम पूरा गर्दैन, वर्षा लागेपछि काम गर्दा प्रभावकारी हुँदैन, समयमा नै काम पूरा गर्नकै लागि ऋण लिएर सहयोग गरेको हुँ’, उनले भने ।

भानु नगरपालिका–१ सतीघाटस्थित ६ रोपनी खेत धितो राखेर सहकारीबाट रकम दिएको त्रिपाठीले स्वीकारे। पेटी ठेकेदारको रुपमा काम गर्दै आएका राजेन्द्र पराजुलीले नगर प्रमुखले ऋण निकालेर सहयोग गरेपछि तीव्र रुपमा काम गरी छिटो सम्पन्न मद्दत गरेको बताए ।

ठेक्का सम्झौता भएको लामो समयसम्म यस मार्गको निर्माण कार्यमा प्रगति हुन नसकेपछि पूर्वाधार विकास कार्यालय तनहुँले काठमाडौँस्थित शङ्करमाली कन्ट्रक्सनसँग तोडिएको ठेक्का पेटी ठेकदारको रुपमा काम गरिरहेका पराजुलीलाई जिम्मा दिइएको हो । पटक–पटक म्याद थप गर्दा समेत सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।

भानु–१३ को चन्द्रावती बजारदेखि पोखरीछाप, ठूल्ढुङ्गासम्म दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । अलपत्र कामलाई तीव्रता दिन पहल ऋण लिएर पूरा गर्न लागिएको हो । उक्त मोटरमार्ग कालोपत्रका लागि पूर्वाधार कार्यालयले रु २३ करोड दुई लाख ८० हजारमा ठेक्का सम्झौता गरेको थियो ।

दश किलोमिटर सडकखण्ड कालोपत्र, नाला निर्माण तथा ग्याविङ जाली भर्नेलगायत कामका लागि २०७८ माघ १५ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । २०४९ मा चन्द्रावतीबाट पोखरीछापसम्म सडकको ट्रयाक खोली सवारीसाधन सञ्चालन हुँदै आएको छ ।

वर्षाकाे समयमा सडक हिलाम्य हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको