काठमाडौ। आप्सा नेपालले आगो र इलेक्ट्रोनिक सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी आयोजना गर्ने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी आप्साले यहि चैत्र २४ र २५ गते काठमाडौंको दरवार मार्गस्थित होटल याक एण्ड यतिमा सम्मेलन तथा प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो।
आगलागीको समस्या सामना गर्न समूदाय स्तरमा थप सचेतना र नविन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको आप्साले जनाएको छ।
विज्ञप्तिमा लेखिएको छ,‘आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन्। हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पुरÞ्याउँदै आएको, जसको सामना गर्नका लागि सरकार तथा स्थानिय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदाय स्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ।’
अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा सम्बन्धी ज्ञान, प्रविधि, सूचना, विचार, समाधानको आदान प्रदानका लागि सबै सुरक्षाकर्मी, सम्बन्धित कर्मचारीहरूलाई एउटै छानामुनि ल्याएर अन्तरक्रियाको मञ्च निर्माण गर्ने उद्देश्यको सम्मेलनको रहेको छ।
साथै सरकारी अधिकारी र निजी कम्पनीहरूको ध्यानाकर्षण गर्ने र दैनिक सञ्चालनमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षाबारे सचेत गराउने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा व्यवस्थापनमा नियामक अनुपालन, मापदण्डहरू, र उत्कृष्ट अभ्यासहरू छलफल गर्न फोरम, अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा प्रविधिहरू र समाधानहरूमा नवीनतम प्रगतिहरू अन्वेषण गर्ने,अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उद्योगमा प्रमुख चुनौती र अवसरहरू सम्बोधन गर्ने,स्थानीय समुदायहरूमा अग्नि सुरक्षा एवं इलेक्ट्रोनिक सुरक्षा उपायहरू र रोकथाम रणनीतिहरूबारे चेतना जगाउने लगायतका उद्देश्य पनि राखेर सम्मेलन गर्न लागेको आप्साले जानकारी दिएको छ।
आप्साका अनुसार सम्मेलनले गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ७५३ नगरपालिका, अन्तर्राष्ट्रिय विशेषज्ञहरू, उद्योगका नेताहरू, तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूलाई एकसाथ ल्याउने छ।



