
अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसंग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले समर्थकसँग माफी मागेकी छन्। उनले सामाजिक सञ्जालमार्फत फाइनलमा फेरि चुकेको र अपेक्षा गरे अनुसार परिणाम दिन नसकेको भन्दै माफी मागेकी हुन्।
‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु।मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू—हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं। म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं। तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ। त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ। पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं।
‘यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं। हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ। यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद! कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं। नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ! निरन्तर अगाडि बढ्नुहोस’ उनले भनेकी छन्।
उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो। गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। गत कात्तिकमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि बंगालदेशसँग नेपाल २–१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
यसपल्ट लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १–० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो। तर,फाइनलमा भने नेपाल फेरी पनि पराजित हुन पुग्यो। यो संगै नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हार बेहोरेको छ।