
काठमाडौँ । सातौं संस्करणको बागमती गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
बागमती–४ स्थित सहिद स्मृति रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडी फोफनाले २४ औं मिनेटमा गोल गरे। खेलको प्लेयर अफ द म्याच लामा घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। सबै गोल पहिलो हाफमा भएको हो।
पहिलो हाफ आफुलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ। थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो। चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो।
आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।