काठमाडौं। निगम श्रेष्ठले निर्देशन गरेका चलचित्र ‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ।

शुक्रबार भयालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ।

सार्वजनिक गरिएको एउटा पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ।

अर्को पोस्टरमा भने उनको सामाजिक सञ्जालमा लाइभ अनि अभिनेत्री सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा समेत देखिएका छन्। यो सिनेमाले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तीलाई व्यंग गरेको बुझ्न सकिन्छ।

निर्देशक निगम श्रेष्ठले भने,‘नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरल हुने जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। यसमै हाम्रो यो सिनेमा केन्द्रित रहनेछ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमामा देखाइने छ।’

निर्भाना फिल्म स्कुल र द जिएमआई एकेडेमीको व्यानरमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ।

विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको यस सिनेमा सह–निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् । अमर महर्जनको छायांकन रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर