
रामेछाप । रामेछाप बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठूलो भएपछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! बेंसी क्षेत्र अर्थात गर्तिरमा जन्मिएको व्यक्ति हिमाल र हिउँमा रमाउँदै विश्वका अग्ला हिमचुचुरामा चहार्दै हिड्ला भन्ने कसले अड्कल गरेको थियो होला र ?
गर्तिमा होइन हिमालमा नै जन्मिएकाले पनि आँट्न नसक्ने साहसिक काम आँटेका छन् रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका प्रकाशराज पाण्डेले । विश्वका सातवटै महादेशका सातवटा सबैभन्दा अग्ला चुचुरा आरोहण गर्ने आँट बोकेर हिँडेका छन् प्रकाश।
आँट मात्र होइन आधा भन्दाबढी काम त फत्ते नै गरिसके । यही फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो माउण्ट ओकान्कागुवा आरोहण गरेपछि प्रकाशले चारवटा महादेशका प्रमुख चार चुचुराको सफल आरोहण गरेका छन्।
यसअघि पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस, अफ्रिकाको किलिमञ्जारो आरोहण गरिसकेका छन्। अब उत्तर अमेरिका, अष्ट्रेलिया र एन्टार्टिका महादेशका सर्वोच्च शिखर आरोहण गर्न बाँकी रहेको छ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ३४ वर्षीय पाण्डे पाँच दाजुभाइ मध्यका साहिँलो भाइ हुन्। उनकी एक बहिनी पनि छिन्। चार कक्षासम्म गाउँकै विद्यालयमा पढेका प्रकाशलाई अङ्ग्रेजी माध्यममा पढाउन भनि अभिभावकहरूले काठमाडौँ लगेर पढाएका थिए।
सन् २००७ मा स्काउटको शतवार्षिकीको अवसर पारेर नेपाल सरकारले रसुवाको लाङटाङस्थित उर्गेमा हिमाललाई व्याडेन पावल स्काउट पिक नामकरण ग¥यो। स्काउटको तर्फबाट नरेश महर्जनले २००७ मा सो हिमाल आरोहण गरे । त्यस पछि न त त्यो हिमालको कुनै चर्चा भयो, न कसैले हिमाल चढे।
स्काउटको नाममा राखिएको हिमालको नाम गुमनाम भएपछि प्रकाशलाई हिमाल चढ्ने इच्छा जाग्यो। २०१६ मा उनी स्काउटको नाममा नामकरण भएको उर्गेमा हिमाल चढ्ने सोचमा पुगे र एकजाना गाइडका साथ स्काउटको तर्फबाट हिमाल चढ्न रसुवा पुगे।
हिमाल चढ्ने खासै अनुभव नभएकाले पाण्डे दुईवटा ठूला दुर्घटनामा परे । पहिलो हिउँ जमेको खाडलमा उनी फसे। उनका गाइडले उनलाई बचाए। फेरी केही माथि पुगेपछि हिउँमा चिप्लिए, झण्डै ज्यान गएन । त्यहाँ पनि गाइडले बचाए । बालबाल बचेर ५ हजार ८ सय ९० मिटर अग्लो टाकुरोमा पुगे । तर फर्कँदा झण्डैँ अर्को ठुलो दुर्घटनामा परेनन्। उनी र उनको पथप्रदर्शकको टाउको माथिबाट ढुङ्गा झ¥यो । तैपनि उनीहरू बचे।
त्यसपछि उनले २०१७ मा सोलुको आइल्याण्ड हिमाल आरोहण गरे । २०१८ को मे १६ को बिहान ११ः३० बजे उनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरे।
उनले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको समेत सफल आरोहण गरे । पाण्डेले आमादब्लम र आइल्याण्ड पिकको समेत आरोहण गरिसकेका छन्।
सातवटै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका प्रकाशले सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरेका थिए।
एसियाको सगरमाथासहित दक्षिण अमेरिकाको माउण्ट ओकान्कागुवा आरोहण गरेपछि चौथो महादेशको सफल हिमाल आरोहण हो।
तर प्रकाशको योजना भने ६ वटा देशका हिमाल चढेपछि फेरी सर्वोच्च शिखरमा पुगेर सबै हिमालमा फहराएको नेपाली झण्डा फहराउने योजना छ।
हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउन यो अभियान सुरु गरेको उनी बताउँछन्। वातावरण परिवर्तनले हिमाललाई पारको प्रभाव रोक्न विश्व समुदायलाई दबाब दिने उनको लक्ष छ।