
काठमाडौं : शहरी विकास मन्त्रालयअन्तर्गतकाे उपत्यका विकास प्राधिकरणले बागमती खोलाको दायाँबायाँ सार्वजनिक जग्गामा बनेका संरचना सात दिनभित्र हटाउन सूचित गरेकाे छ । मंगलबार प्राधिकरणले बागमती करिडोरका विभिन्न स्थानमा यस्तो सूचना टाँस्दै नहटाए कारवाही गर्ने जनाएकाे छ ।
‘बागमती खोलाको दायँबायाँ क्षेत्रभित्रका सरकारी वा सार्वजनिक जग्गामा मापदण्डविपरीत निर्मित घर, टहरा र अन्य अवैध संरचना सात दिनभित्र हटाउन वा खाली गर्नुहुन जानकारी गराइन्छ,’ प्राधिकरणले बागमती किनारामा टाँसेको सूचनामा उल्लेख छ । खोलाआसपासका सरकारी, सार्वजनिक जग्गामा बनेका संरचना एक साताभित्र नहटाए प्राधिकरण ऐनबमोजिम कारबाही गर्ने पनि प्राधिकरणले चेतावनी दिएकाे छ ।
अहिले प्राधिकरणले काठमाडौंमा मिचिएका सरकारी, सार्वजनिक जग्गा फिर्ता ल्याउन गृहकार्यमा जुटेकाे छ । उपप्रधानमन्त्री एवा् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउने बताएलगत्तै प्राधिकरण सक्रिय बनेकाे हाे । सरकारी, सार्वजनिक जग्गामा निजी आवासदेखि व्यावसायिक संरचनासमेत बनेको छ । त्यसलाई खाली गरी सरकारको नाममा ल्याउने अभियान प्राधिकरणले थालेको छ। बागमती किनाराका ठुलो मात्रामा जग्गा व्यक्ति र समूहहरूले हडपेकाे पाइएकाे छ । प्राधिकरणले केही दिनअघि ऊँ अस्पताले सार्वजनिक जग्गा मिचेर लगाएकाे पर्खतल भत्काएकाे थियाे । गंगाहिटीमा परिवर्तन सेवा प्रालिका नाममा बनेकाे अवैध संरचना हटाउन पनि पटक पटक सूचना जारी गरिसकेकाे छ ।