काठमाडौं । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको दुई दिने नेपाल स्टार्टअप र एसएमई सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार पार्टी सभापति शेरबहादुर देउवाले उृद्घाटन गरेर सुरु भएको सम्मेलन बिहीबार बेलुका विभागकी संयोजक उर्मिला थपलियाले सम्पन्न भएको घोषणा गरेकी हुन् ।
सम्मेलन समापन कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी विभागकी संयोजक थपलियाले कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छन् ।
समापन कार्यक्रममा बोल्दै उनले भनिन्, “हामीले यस सम्मेलन र स्टल राखेर सहभागिता जनाउनुभएका सम्पूर्णलाई फारम भराएर समस्या टिपोट गर्न लगाएका छौं । त्यसलाई समाधान गर्नका लागि हामीले पार्टी नेतृत्व र सरकारसँग पहल गर्नेछौं । हामीले उद्यमी र राज्यबीच पुलको काम गरेका छौं । यो कार्यक्रमलाई सफलरुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।”
उनले युवा पुस्तालाई स्वदेशमा राख्नका लागि साना तथा मझौला उद्योगलाई अगाडि बढाउनुपर्ने बताएकी छन् । उनले यस्तो सम्मेलनलाई आगामी दिनमा प्रदेश र स्थानीय तहसम्म पनि आयोजना गर्ने र देशभरका उद्यमीहरुलाई जोड्ने काममा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।
उनले भनिन्, “हामीले आयोजना गरेको यो सम्मेलनले केही उद्यमीहरु जोडिनु भएको छ । आगामी दिनमा प्रदेश र स्थानीय तहसम्म यस्ता सम्मेलनहरु गरेर देशभरका उद्यमीहरुको नेटवर्क बनाउन, समस्या पहिचान गर्ने र समाधानका लागि राज्यलाई झक्झकाउने काममा हामी निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।”
संयोजक थपलियाले सम्मेलनलाई सफल बनाउनका लागि सहभागी हुन आएका सम्पूर्ण विदेशी नियोगका कूटनीतिज्ञ, नेपाल सरकारका मन्त्री तथा प्रतिनिधिहरु, पार्टीका नेता तथा पदाधिकारीलगायत सम्पूर्णले सम्मेलन र स्टल अवलोक गर्दै उद्यमीका समस्या सुनिदिएकामासमेत कृतज्ञता व्यक्त गरेकी छन् ।

दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न शीर्षकमा छ वटा छलफल कार्यक्रम गरिएको थियो । जसमा करिब ३० जनाभन्दा बढीले आ–आफ्नो राय व्यक्त गर्दै उद्यमशीलतालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
संयोजक थपलियाले सम्मेलन अवधिभर पार्टी कार्यालयको परिसरमा विभिन्न हस्तकला, कृषि उत्पादनलगायतका सामग्रीको स्टल सञ्चालन गरेकाहरुलाई स्टलमा नै पुगेर कदरपत्र हस्तान्तरण गरेकी हुन् ।

सम्मेलनमा विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुले समेत स्टल अवलोेकन गरेका थिए ।



