
काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदाय(एलजीविटीआइक्यू)को अधिकारका लागि सक्रिय संस्था मायाको संसारकी अध्यक्ष सुनिता लामाले आफूमाथि प्रहरी र स्थानीय युवाहरुले दुव्र्यवहार गरेको बताएकी छिन्।
चितवनको नारायणी पुलछेउमा आफूमाथि भौतिक आक्रमण समेत भएको र खुट्टामा चोट समेत लागेकाले उपचार गराइरहेको जानकारी दिइन्।
‘२०८१ साल पुष २५ गते राति २ः०० बजेदेखि ३ः०० बजेको समयमा फायर क्लब, चितवनबाट फर्कंदै थिएँ। सोहीबेला नारायणी पुल क्षेत्रको छेउमा एलजीबीटीआईक्यूएं समुदायका केही व्यक्तिहरूसँग चिया पिउँदै कुराकानी गरिरहेको थिएँ । यही क्रममा अप्रिलिया स्कुटरमा आएका दुईजना युवाहरूले मलाई र समुदायका व्यक्तिहरुलाई अपमानजनक शब्द प्रयोग गर्दै दुव्र्यवहार गरे। मैले उनीहरूलाई यस्तो शब्द प्रयोग नगर्न आग्रह गर्दा उनीहरू झन् आक्रामक भए। मैंले घटनालाई सुरक्षित राख्नका लागि आफ्नो मोबाइलबाट भिडियो खिच्न थालेपछि उनीहरू भागे,’उपचारका क्रममा रहेकी उनले भनिन्,‘ घटनाको छेउमा रहेका दुईजना प्रहरी हवल्दार र सहायक हवल्दारले केहीपनि प्रतिक्रिया दिएनन्। मैंले सहयोगको लागि धेरै पटक अनुरोध गर्दा पनि उनीहरूले कुनै प्रतिक्रिया दिएनन्।’
‘मैंले उहाँहरुसँग सहयोग माग गरें। तर उल्टै अपमान गर्दै ‘चोर’, ‘वेश्या’ ‘छक्का’ जस्ता शब्दहरु प्रयोग गरे । जब मैंले आफ्नो परिचय, आफ्नो संस्थाको पद र चितवनमा फिल्म सुटिङको उद्देश्य प्रष्ट पारेँ। उनीहरूले मेरो परिचयलाई बेवास्ता गरे । उनीहरूले थप प्रहरी बल बोलाएर लाठीचार्ज गरे,’ उनले अगाडि भनिन्,‘ घट्नाबाट जोगिन खोज्दा म चिप्लिएर लडें, या कसैले मलाई पछाडिबाट धकेलेको कारणले म घाइते भएँ । मेरो साथीहरूले एम्बुलेन्स बोलाएर मलाई चितवन मेडिकल कलेजमा उपचार गराउन लगे। मेरो खुट्टामा प्लास्टर गर्नु परेको छ र खुट्टाको चारवटा स्थानमा चोट लागेको छ । घटनापछि मंैले आफ्नो झोला लिन सफल भएपनि, मेरो मोबाइलमा रहेका सबै भिडियो प्रमाण प्रहरीले मेटाएका रहेछन्।’
प्रहरी प्रशासनबाटै यस्तो अभद्र व्यवहार भएपछि संविधानद्वारा सुनिश्चित गरिएको मानव अधिकार र स्वतन्त्रताको स्पष्ट उल्लघंन भएको उनले बताइन्। ‘घटनामा, प्रहरी हवल्दार र जवान हाम्रो समुदायका सदस्यहरूप्रति अपमानजनक व्यवहार गरेका मात्र होइन, मानव अधिकारको हनन् गरेको प्रष्ट भएको छ। प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिइ न्याय दिने आफ्नो दायित्वप्रति असंवेदनशीलता देखाएको छ,’ उनले भनिन्।
घट्नाका कारण आफ्नो संस्थाका गतिविधि र समूदायका लागि हुने कार्यक्रमहरुमा आफू जान नसक्ने अवस्था रहेको उनले सुनाइन्। संस्थाको अध्यक्ष छु तर अहिले दुई महिनासम्म शय्याशायी हुनुपर्ने अवस्था आएको छ। मेरो खुट्टामा प्लास्टर गरिएको छ, जसका कारण म कुनै बैठक वा कार्यक्रममा जान सक्दिनँ। मेरो आर्थिक अवस्था गम्भीर रूपमा प्रभावित भएको छ। विशेषतः, म मायाको संसारको बैठक र कार्यक्रमहरूमा सहभागी हुनका लागि ह्वीलचेयरको आवश्यकता छ। तर, हाम्रो संस्थासँग ब्हीलचेयर किन्न प्रर्याप्त स्रोत छैन्। यस्तोबेला सबैको सहयोग आवश्यक छ,’ उनले घट्नाबारे प्रष्ट पारिन्।
घट्नाबारे छानविन गर्न भन्दै अध्यक्ष लामाले जिल्ला प्रशासन कार्यालय, चितवनमा निवेदन दिएको र प्रशासनले घटनाको छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखिसकेको बताइन्।
‘मैले जिल्ला प्रहरी कार्यालयका डिएसपीसँग छलफल गरेँ। तर, बैठकको क्रममा डिएसपी सरले मेरो फोटो र भिडियो खिचिरहनु भएको देखेर मलाई झनै असहज लाग्यो। म कुनै कानूनी प्रक्रिया भन्दा माथि छैन र यस्तो व्यवहारले मलाई प्रहरी प्रशासनप्रति असुरक्षित महसुस गरायो,’ उनले विज्ञप्तिमार्फत नै भनेकी छन्,‘यदि यस्तै घटना कुनै प्रहरीहरुमाथि भएको भए उनीहरूले तुरुन्तै अपरेशन गरेर दोषीलाई पक्राउ गर्थे र चाहे त्यो एलजीबीटीआईक्यूए समुदायसँग सम्बन्धित होस् वा अन्य समुदायसँग, कडा कारबाही गर्ने थिए । तर, हाम्रो समुदायले प्रहरी प्रशासनसँग न्यायको अपेक्षा गर्न कठिन छ। यस्ता घटनाले हाम्रो समुदायलाई अझ कमजोर बनाउँछ। यस्ता घटनाले हामीलाई अन्याय सहन बाध्य बनाउँछ र प्रहरी प्रशासनबाट न्यायको आशा कमजोर बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ ।