
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तराष्ट्रिय श्रम संगठन आईएलओबीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितका पदाधिकारी र आईएलओ नेपालका कन्ट्रि डाईरेक्टर नुमान अन्ज्यनबीच श्रमिक अधिकारबारे छलफल भएको हो।
श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसंग जोड्ने विषयमा छलफल भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। विश्वव्यापी रुपमा नै श्रम आप्रवासको क्षेत्रमा काम गरिरहेको संस्था आईएलओसंग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए।
उनले भने, ‘नेपालमा करिव ८० प्रतिशत रोजगारी निजी क्षेत्रले सिर्जना गरेको र उनिहरुको हक अधिकार सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध रहेको छ,।’ नेपालको श्रम कानुनमा रहेको व्यवस्था बदलिदो कार्यशैली र शिप आर्जनमा चुनौतीपुर्ण रहेको अध्यक्ष अग्रवालको भनाई छ। श्रमिकले लचकतापुर्ण कार्यशैली अपनाउने परम्पराको विकास भईरहेको विषयमा पनि बैठकमा छलफल भएको थियो।
चेम्बर अध्यक्ष अग्रवाल सहितका पदाधिकारीसंग भएको भेटमा आईएलओका कन्ट्रि डाईरेक्टर अन्ज्यनले रोजगार दाता र श्रमिक दुवैसंग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताए । साना तथा मझौला उद्योगहरु मुलुकको अर्थव्यवस्थाको मुख्य मेरुदण्ड भएको उनले बताए।