•डा.नवराज लम्साल
भीर भिरालो भएकोमा के पिर ?
काँडाले घोचेकोमा के पिर ?
आगोले पोलेकोमा के पिर ?
पानी बगेकोमा के पिर ?
जे कुरामा पिर गर्नु पर्दैन
त्यही कुरामा पिर गरेर के पिर ?
अचेल मान्छेहरू
सर्पले मान्छे डसेकोमा पिर गर्छन्
मान्छेले सर्प डसे पो पिर !
विष लागेर कोही मर्यो
के अनौठो भयो ? के पिर भयो ?
बिष खाएर पनि केही भएन
यो पो अनौठो !
खुर्सानी पिरो नभए
पाती तितो नभए
कागती अमिलो नभए
मान्छे बेइमान नभए
कविले
इमानको कविता लेखेर पनि त के अर्थ ?
म समयसँग सदाचार खोजिरहेछु
दुनियाँसँग प्रेम खोजिरहेछु
वचनमा निष्ठा
प्राप्तिमा इमान
र प्रेममा समर्पण खोजिरहेछु
अनि म आफैँ
समयभन्दा बाहिर नभए अरू को हुन्छ ?
बेइमानको पर्खालमा उभिएर
इमानको बिस्कुन सुकाउँछु भन्नु पनि
जिन्दगीको भीर हो
सृष्टि स्वयंको पिर हो !
बाबु नानीको पैताला काटेर
स्कुलको फी काटेर
टिफिनको भाग खोसेर
म समयको मदिरामा लट्ठ छु
यतिखेर कसैले मलाई निम्ता दिनु पनि छैन
म कतै जानु पनि छैन
कवि हुँ राजनीति गरिरहेको छैन !
भीर भीर नभए के हुन्छ ?
आगो नबले के हुन्छ
जीवनको कठोर यातना
आगोको कारखाना हो !
आगोले पोल्यो कुन अनौठो भयो ?
पोल्यो र दुख्यो कुन अनौठो भयो ?



