कास्की : जिल्ला अदालत कास्कीकाे आदेशपछि ६५ लाख धराैटी बुझाएर रवि लामिछाने रिहा भएका छन् । अदालतकाे आदेशसलगत्तै लामिछाने बेलुकी नै रिहा भएका छन् ।
आदेशमा लामिछाने निर्दाेष छन् भन्ने आधार नभएकाे उल्लेख छ । आदेशमा सुर्यदर्शन सहकारीकाे ७५ लाख रवि लामिछानेकाे ग्लाेबल आइएमई बैंककाे खातामा गएकाे र त्यहाँबाट गाेर्खा मिडियाकाे खातामा गएकाे आदेशमा भनिएकाे छ ।

लामिछाने रास्वपा उपसभापति डीपी अर्यालकाे जिम्मामा छाडिएकाे छ। शुक्रबार लामिछाने आफै जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने उनका निकटस्थ दिपक बाेहराले बताए । लामिछाने माथि जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा छ ।
इजलासको आदेश यस्तो छ —
‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’





