काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने भएको छ।

जनकपुर बोल्ट्स टीम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रबार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए।

उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ।

टीमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरु, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ। नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टीम बनेको छ।

जनकपुर बोल्ट्सले शनिबार काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टीमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको