राैतहट : पौष मसान्त सम्म इट्टा पोल्ने कार्य बन्द गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको निर्देशन अधिकास इट्टा व्यवसायीले अटेर गरेका छन् । गत पुस १ गते जिल्ला प्रशासन कार्यालयले सबै इट्टा व्यवसायी लाई प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्य अवस्था बिग्रन नदिन इट्टा पोल्ने कार्य पुस मसान्त सम्म नगर्न सूचना जारी गरेकाे थियाे ।
तर, अधिकांस इट्टा ब्यवसायीले अवज्ञा गर्दै इट्टा पोल्दै आएका छन् । घरेलु तथा साना उद्योग कार्यालय गौर, रौतहटले इट्टा उधोगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इट्टा पोल्ने कार्य प्रत्येक वर्षको पौष मसान्त पछि मात्र सुरु गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई अनुरोध गरेको थियो ।
सूचनालाई अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाउ दिएपनि अधिकांस व्यवसायीले इट्टा पोल्दै आएका छन् । राजमार्गबाट समेत इट्टा व्यवसायीले इट्टा पोलेको सहजै देखिए पनि प्रशासन मौन बसेको पाइएको छ ।
अधिकांस इट्टा उधोगको बम्बा बाट आगोको मुस्लो निस्केको देखिन्छ भने कामदारलाई समेत प्रयोग गरेको पाइएको छ । पौष मसान्त सम्म इट्टा पोल्ने कार्य बन्द गर्न जारी गरेको सूचना जिल्ला प्रशासन कार्यालय रौतहटले गृह मन्त्रालय सिंहदरबार, काठमाडौँ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मधेश प्रदेश जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय रौतहट, घरेलु तथा साना उद्योग कार्यालय गौर, रौतहट, इट्टा व्यवसायी संघ रौतहट लाई बोधार्थ दिएपनि बेवास्ता भएको छ ।



