
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले नेपालले चीनसँग गर्ने भनिएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईसम्झौता देशको हितमा नरहेको पुनः ठहर गरेको छ । लोसपा बीआरआई सम्झौताको विपक्षमा छ ।
बुधबार काठमाडौंमा बसेको उक्त पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरूको बैठकबाट केन्द्रीय समितिले विगतमा गरेको त्यससम्बन्धी निर्णयको सान्दर्भिकता हाल समेत उत्तिकै रहेको निष्कर्ष निकालिएको हो । “मिति २०८० चैत्र ६ र ७ गते बसेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकद्वारा बीआरआई सम्झौता देशको हितमा नरहेको निर्णयको सान्दर्भिकता हाल समेत उत्तिकै रहेको ठहर यस बैठकको रहेको हुनाले लोसपा नेपाल बीआरआई सम्झौताको विपक्षमा रहेको निर्णय यस बैठकले गर्दछ,” पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, उखुको ‘घोषणा’ मूल्य तोक्न संघीय सरकारसँग माग गरिएको छ । किसानलाई उखुको भुक्तानी समयमै गराउन लोसपाले सहजीकरण गर्ने निर्णय पनि बैठकबाट गरिएको लोसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।