काठमाडौं । विवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । मंगलबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई ब्यूरोको टोलीले पक्राउ गरेको सीआईबीका प्रमुख दीपक थापाले बताएका छन् । प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको थापाले बताए । उनले भने, ‘अहिले विद्युतीय कारोबार ऐनअनुसार पक्राउ गरिएको छ । अनुसन्धान गर्दै जाँदा अन्य के–के विषय भेटिन्छ ती सबै विषयमा पनि अनुसन्धान हुन्छ ।’

मेडिकल माफियाको आरोप खेप्दै आएका विवादास्पद व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप लागेको छ ।

प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान हुनेछ । कीर्ते प्रकरणमा पनि प्रसाईंविरुद्ध अनुसन्धान हुनेछ । प्रसाईंलाई कीर्ते र संगठित अपराधमा पनि कारबाही हुन सक्ने सीआईबीका प्रमुख एआईजी थापाले बताएका छन् ।

विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सञ्जालमार्फत धेरै व्यक्ति र संस्थालाई टाउको दुखाइको विषय बनेका प्रसाईंलाई यसअघि पनि साइबर अपराधमा प्रहरीले पक्राउ गरेको थियो । धरौटीमा छुटेका प्रसाईंमा सुधार नभएपछि पुनः प्रहरीले विभिन्न प्रमाणहरूको आधारमा पक्राउ गरेको छ ।

ओलीविरुद्ध प्रसाईंको दुष्प्रचार

व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका छन् । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड ९साढे ३२ अर्ब रूपैयाँभन्दा बढी० अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ ।

प्रसाईंको फेसबुक पेजबाट हिजो एक अफवाहजन्य भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसलाई अहिलेसम्म २ हजार सात सयभन्दा बढीले सेयर गरिसकेका छन् । माओवादी, रास्वपा र राजावादी कार्यकर्तालाई यो भिडिओ एउटा गतिलो खुराक बनिरहेको छ । तर, नेपाल प्रेसलाई प्राप्त प्रधानमन्त्रीका आधिकारिक दस्तावेजहरू हेर्दा उक्त भिडिओ रिपोर्टमा देखाइएका कागजात कीर्ते भएको ठहर्छ ।

भिडिओ रिपोर्टमा भनिएको छ, ‘हाम्रा संयोजक दुर्गा प्रसाईंलाई कम्बोडियाको एजियाटा कम्पनीमा हाम्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गरेको प्रमाण प्राप्त भएको छ ।’

भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाइएका छन् । ओलीको नक्कली हस्ताक्षर रहेको अर्को कागज पनि प्रमाणका रूपमा देखाइएको छ । यसरी दुईवटा कागजमै नामको स्पेलिङ फरक छन्, जसले गर्दा प्रथम दृष्टिमा नै यो अविश्वसनीय देखिन्छ ।

भिडिओमा प्रश्न गरिएको छ, ‘हाम्रोजस्तो गरिब देशका प्रधानमन्त्रीसँग कम्बोडियामा यत्रो लगानी गर्ने पैसा कहाँबाट आयो पत्रकार मित्रहरु ? न हाम्रो देशका प्रधानमन्त्री न उद्योगी न व्यापारी । यिनले कहाँबाट बनाए यस्त्रो पैसा ?’

ओलीले अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओली कम्बोडिया विजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला सेयर होल्डरको रूपमा हस्ताक्षर गरेको दावी प्रसाईंले गरेका छन् ।

उनी भन्छन्, ‘मैले प्रमाण ल्याउन मेरो तन, मन, धन, समयको लगानी गरेको छु, यो प्रमाण ल्याएको यी भ्रष्टले थाहा पाएपछि राज्यसत्ताको दुरुपयोग गरेर मलाई सिध्याउन खोजिरहेका छन् आम नागरिक चनाखो रहनुहोला ।’

प्रसाईँले देखाएको डकुमेन्टमा उल्लेखित नाम प्रधानमन्त्रीको नागरिकताको नामसित मिल्दैन । २०४५ सालमा जारी भएको नागरिकतामा उनको नाम केपी शर्मा ओेली लेखिएको छ । जबकि नक्कली कागजमा खड्गप्रसाद ओली केपी ओलीउल्लेख छ । कुनै पनि दस्तावेजको आधिकारिकताका लागि व्यक्तिको नाम नागरिकताबमोजिम नै हुनुपर्छ । साथै, ओलीको भनिएको हस्ताक्षर पनि उनले गर्ने हस्ताक्षरसित मिल्दैन ।

तस्विर साभार : दिपेन्द्र ढुँगाना

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर