काठमाडौं : दोहोरो राहदानी प्रयोग गरेपछि नेपालकी एक सुन व्यवसायी अनुसन्धानको घेरामा परेकी छन् । नेपाल र बेलायत दुवै देशको राहदानी रहेको आशंकापछि सुन व्यवसायी लक्ष्मी राई विवादमा तानिएकी छन् । उनीमाथि दोहोरो नागरिकता र राहदानी (पासपोर्ट) दुरुपयोग गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको हो ।
लन्डन पुगेकी लक्ष्मीले नेपालको नागरिकता नत्यागी बेलायतको पासपोर्ट प्रयोग गरेको खुलेपछि उनीमाथि अनुसन्धान थालिएको सीआईबी स्रोतले बतायो । उनले राहदानी दुरुपयोग गरेको सुराक प्राप्त भएपछि अनुसनधान अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ । लक्ष्मीे न्यू लक्ष्मी ज्वेलर्स लण्डनकी समेत सञ्चालिका हुन् ।
‘लक्ष्मीले पासपोर्ट दुरुपयोग गरेको सूचना पाएपछि हामीले अनुसन्धान गरिरहेका छौँ । नेपाली नागरिकता नै नत्यागी लन्डनको पासपोर्ट प्रयोग गरेको देखिएको छ । हामी अनुसन्धानमै छौँ,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीस्राेतका अनुसार ०७११३०३४ नम्बरको नेपाली पासपोर्ट लिएकी राईले ५१९११८२२० नम्बरको लन्डनको पासपोर्ट लिएको खुलेको छ ।
नेपालको कानुनअनुसार नेपाली नागरिकता त्याग नगरी दोस्रो मुलुकको पासपोर्ट प्रयोग गर्नु गैरकानुनी मानिन्छ ।
के हुन्छ कारवाही ?
दोहोरो राहदानी नेपालको कानूनले कसूरजन्य मान्दछ । यसअघि हिमाल आरोही निर्मलपूर्जा र रास्वपाका सभापति,पूर्व गृहमन्त्री रवि लामिछाने दोहोरो राहदानी मुद्दामा विवादमा तानिएका थिए । राहदानी ऐन २०७६ को दफा २१ मा कसैले झूटा विवरण दिई राहदानी लिएमा वा लिन प्रयत्न गरेमा राहदानीविरुद्धको कसुर मानिने उल्लेख छ । उक्त दफाको बुँदा ‘क’ मा ‘कसैले झूटा विवरण दिई राहदानी वा यात्रा अनुमति लिएमा वा लिन प्रयत्न गरेमा यस ऐनबमोजिम कसुर गरेको मानिने’ उल्लेख छ । यो कसुरमा संलग्नलाई दफा २२ को उपदफा १ बमोजिम ‘२ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने’ उल्लेख छ । राईको हकमा पनि यो कानूनी व्यवस्था आकर्षित हुनसक्छ ।




