काठमाडौं : आफ्नो पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सिंगै पोखरामा उत्रियो । लगातार एक साता यता आन्दोलनमा रहेको रास्वपाका देशभरका कार्यकर्ता पोखरा उत्रिए । तर, पोखरेली नागरिकले भने खासै साथ दिएनन् । बुधबार पोखरेलदी नागरिकको साथ खोज्दै चुनावी घरदैलो शैलीमै रास्वपा घरघर पुग्यो । तर, उत्साहजनक प्रतिक्रिया नपाएपछि रास्वपा अब काठमाडौं केन्द्रीत आन्दोलन गर्ने निष्कर्षमा पुगेको छ ।
पार्टी उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्लेसहित बिहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने बताएका हुन् । गत शुक्रबार सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन जारी राखेको छ । आज पनि रास्वपा प्रदर्शन जारी छ तर, उपस्थिती भने पातलिँदै गएको छ ।

बिहीबार सभापति लामिछानेलाई जिल्ला अदालत कास्की उपस्थित गराइएको छ। दोस्रो पटक म्याद थप गर्नका लागि उनलाई अदालत लगिएको हो। यसअघि उनलाई ६ दिन हिरासतमा लिएर अनुसन्धान गरिएको थियो। उनको थुनछेक बहस चलिरहेको छ । उनीहरूले पोखराको आन्दोलन सम्भवत आज अन्तिम हुने र अब काठमाडौंकेन्द्रित हुने बताएका छन्।
पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पनि अब काठमाडौंकेन्द्रित आन्दोलन गरिने बताए । उनले भने,‘अब काठमाडौंकेन्द्रित आन्दोलन हुन्छ। तर पोखरामा सभापति रहुन्जेल केही न केही कार्यक्रम त भइराख्छ ।’ सहकारी ठगीमा मुछिएपछि रास्वपा सभापति लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।



