काठमाडौं । शी लिड्स आइकनका लागि २७ जना महिला छनोट हुनु भएका छन् । मंगलवार पत्रकार सम्मेलन मार्फत महिला जनप्रतिनिधिको काम योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २ , बागमती प्रदेशबाट ४ , गण्डकी प्रदेशबाट ३ ,लुम्बिनी प्रदेशबाट ७ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरु जनमतका लागी छनोट गरिएको हो ।
प्रतिस्पर्धाको लागि खुल्ला रूपमा महिला जनप्रतिनिधिलाई सहभागिताका लागि आव्हान गरिएको थियो । जसमा कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११,लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिहरुको आवेदन प्राप्त भएको आयोजक संस्थाले जानकारी गराएको छ ।

“महिला स्वास्थ्य, महिला उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहिता”क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधीलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले शुरु भएको कार्यक्रममा विभिन्न स्थनीय तहका १४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएको थियो । जसमध्ये १२८ जना महिला जनप्रतिनिधिलाई राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले २७ जना छनोट गरेको हो । आयोजक संस्थाका अनुसार छनोट हुनुभएको २७ जनालाई २० दिनको समय दिएर जनमतकालागी लगिने छ र त्यसमध्ये ३ जनालाई विजेता घोषणा गर्दै ३ जना आइकनको कार्यस्थलमा पुगी प्राविधिक टोली सहित वृत्तचित्र तयार पारिने बताईएको छ ।

यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मदतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रर्दशन गरिनेछ र सो बारे जनमत संकलन गरिने छ । साथै विशिष्टिकृत अग्रता को आधारमा शी लिड्स आइकनहरूलाई राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरि सम्मान गरिनेछ ।




