सुधा देवकोटा
हरेक आधुनिक समाजसँग परम्पराको जरो हुन्छ । परम्पराको विरासत हुन्छ । संस्कृतिको बलियो धागो हुन्छ । हरेक समाजभित्र कालजयी रुपमा रहेका हुन्छन् परम्परागत मान्यताहरु । समाजमा परम्परादेखि चलिआएका धार्मिक, सांस्कृतिक पर्वहरुको महत्व सदा विशिष्ट रहन्छ । हरितालिका तिज नेपाली समाजको त्यस्तै एउटा विशिष्ट पर्व हो । जसको रौनक अहिले नेपाली समाजमा शुरु भइसकेको छ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजको रौनक सहरबजार र गाउँ सबैतिर छाईसकेको छ । तिज समाजलाई जोड्ने, पति पत्नीबीच सम्बन्ध आत्मिय बनाउने, पारिवारिक सद्भावको पर्वका रुपमा समेत स्थापित छ ।
जसरी चन्द्रमामा बादलको घेरा रहन्छ । हिलोमा नै सुन्दर फूल कमल फुल्छ । त्यसैगरी तिजको धार्मिक सांस्कृति सुन्दरताबिच केही विकृति पनि देखापरेका छन् । तिज संस्कृतिमाथि पछिल्लो दशकमा देखापरेको विकृतिले कतै यसको मौलिकता नासिने त होइन ? भन्ने अहं प्रश्न खडा गरिररहेको छ । तिजको मौलकता जोगाउनुपर्नेमा बहुसंख्यकको मत मिल्छ । यही कारण तिजको मौलिकतामाथि प्रश्न खडा गरिएपनि यसको मौलिकता नासिँदैन, विकृति हटाउन सकिन्छ भन्ने आधार कमजोर भइसकेको छैन ।
धार्मिक–पारम्परिक महत्व
तिजको इतिहास हिमालयपुत्री पार्वतीबाट सुरु भएको मानिन्छ । धार्मिक मान्यताअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेको र व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तिजका रूपमा मनाउने प्रचलन शुरु भएको मानिन्छ । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरपछि १०८औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा हिन्दु धर्मशास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तिजको व्रत बस्ने चलन छ । इच्छा प्राप्ति, दोष मुक्तिसँग पनि यो पर्व जोडिन्छ । पवित्र मन–बचनले तिजको व्रत बस्दा अविवाहितले आफूले चाहेकोजस्तो पति पाउने र विवाहितहरूले आफ्ना पतिको दीर्घायु तथा सुस्वास्थ्य प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यस्तै हरितालिका तिज सकिएपछि पञ्चमी मनाइन्छ । पञ्चमीको विशिष्ट मान्यता अलग छ । पञ्चमीको दिन पवित्र गंगामा स्नान गर्ने गरिन्छ । पञ्चमीमा टोकिने ३ सय ६५ वटा दतिवनका डाँठले वर्षभरि कर्म,वचन र सोचले भएका गल्तीबाट मुक्ति पाइन्छ भन्ने मान्यता छ ।यो दिनलाई महिलाको रजस्वलासँग पनि जोडेर हेर्ने गरिन्छ । प्रथम रजस्वलापछि मात्र पञ्चमी पूजामा युवतीहरु सहभागि हुन्छन् भने विवाहित, प्रौढ एवं महिलाहरू रजस्वलाका बखत छुन नहुने चीज वा देवीदेवतालाई भूलवश छोइएको भए पनि दतिवन टोकेपछि सम्पूर्ण पाप पखालिने कुरामा विश्वास गरिन्छ । तिज पर्वको परम्परागत महत्व सम्बन्धसँग जोडिएर आएको छ । सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने पर्व हो तिज । अहिले पनि यसको आस्था र महत्व उत्तिकै छ । अनदीको लट्टे, तिलको छोप हालिएको करेलाको अचार आदि परिकारको स्वादसँगै पुराना भाका र शैलीका गीत गाउने, पानी नपिई व्रत बस्ने, पञ्चमीको पूजापछि कर्कलो खानेजस्ता परम्परागत संस्कार हाम्रो छ । जति पहिलो पुस्तासँगको संगतबाट संस्कार सिकिन्छ त्यति अरूले गरेको देखेर प्राप्त हुँदैन ।
साँगितिक तिज
पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएको हुँदा एकदिन भए पनि मीठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्ने गरेको पाइन्छ । चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि सोही दिनको प्रतिक्षामा बस्ने गर्दथे । तिजको दिनलाई उनीहरू आफ्नो मनको बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । तिजको दिन आफूलाई हलुका बनाउने दिनका रुपमा उपभोग गर्ने हुँदा यो दिन आम महिला दिदिबहिनीहरुका लागि प्रतिक्षाको दिन बन्थ्यो । बिवाह पछि घरबाट टाढा टाढा भएका चेलीबेटीहरु भेटघाट हुने अवसर तिजले जुराउने गर्दछ । तिजको गीतसँगीतले दिदिबहिनी, आमा, भाउजु सबैलाई एउटै आँगनमा नाच्ने वातावरण समेत निर्माण गर्दछ । घरमा सासूले खटाउने संस्कार रहेको नेपाली समाजमा महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो मसिनो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाहरुका लागि असाध्यै प्रिय पर्व हो । तिजका गितहरुको विशिष्ट महत्व छ । अरु दिन नखुल्ने महिलाहरुप तिजको दिन भने धित मर्नेगरि नाच्ने गर्छन् ।
मौलिकतामाथि आधुनिकताको चुनौति
तिजको सामाजिक, साँस्कृतिक र धार्मिक पक्ष सुन्दर हुँदाहुँदै पनि अहिले यसको मौलिकता मासिने हो की भन्ने चिन्ता बढ्दो छ । शहर बजारमा महिनौं अगाडी देखि पार्टी प्यालेसमा तिजको दर खान सुरु भईसक्छ । आर्थिक रुपमा सम्पन्न महिलाहरुले त पालैपालो एकअर्काको घरमा दर खुवाउने कार्यक्रम नै राख्ने गर्छन् । दरसँगै दारु (मदिरा) खाने र भड्किलो गितमा उच्श्रृंखल नृत्य गर्ने क्रम पनि बढ्दो छ । ती गतिविधि तत्कालै सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छन् । जसले नयाँ पुस्तालाई तिज भनेकै त्यस्तै पो हो की भन्ने समेत लाग्ने अवस्था बन्दैछ । देखासेखि गर्दा कतिपयले आफ्नो आर्थीक हैसियत भन्दा माथि देखिन खोज्दा पारिवारिक कलहसमेत निम्तिएका घटनाहरु हाम्रो समाजमा पसस्तै छन् । आर्थिक असमानताको यो खाडलकाबिच तिज कपडा र गहना प्रदर्शन गर्ने माध्यम बनिरहेको छ । आर्थिक रुपमा सम्पन्नहरुलाई त तिजको भड्किलोले खासै असर नगर्ला । तर समाजमा पर्नकै लागि भनेर तडक भड्कको देखासिखीका लागि ऋणपान गर्नेहरुलाई यसले कति असर गर्ला ? यी कुराहरुले तिजको महिमा मात्र घटाएको छैन सामाजिक बेथिती र विश्रृंखलता समेत बढाउने सम्भावना छ । सहरी क्षेत्रको तिज भड्किलो हुँदैछ भने तिजको मौलिक र परम्परागत सौन्दर्यमा पश्चिमा शैलिको रमझम मिसिएर विकृत बनेको छ ।
तिजर्लाइ कति खर्च गरेर दर खुवाउन÷खान सकिन्छ । कति खर्च गरेर लुगा, गरगहना लगाउन सकिन्छ भन्नेतिर लान खोजिदैंछ । जति धेरै खर्च गर्न सक्यो उति धेरै राम्रो तिज । जति ठूलो पाटि प्यालेस र होटलमा दर खुवाउन सक्यो उति उत्कृष्ट तिज हुन्छ भन्ने मनोविज्ञान बन्न थालेको छ । तिजको तडक भडक र यसले निम्त्याउने आर्थिक बोझ देखेरै काठमाडौं जिल्ला प्रशासनले तिजमा तडक् भडक् नगर्न अनुरोध गर्नु परेको छ । यही अनुरोधबाट ठम्याउन सकिन्छ तिजले आफ्नो मौलिक स्वरुप गुमाईसक्यो भनेर । यथार्थमा तिज प्रेमको पर्व हो । छोरी चेली र माईतिको मिलनको पर्व हो । सम्बन्धको पर्व हो । प्रेम, परिवार र सम्बन्धलाई रुपैयाँ पैसाको तुलोमा जोखेर तिज पर्वको महत्व बुझ्न सकिदैन् ।
तिजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँसु खस्यो दैला ठेलामा ।
केही वर्षअघिसम्म तिज नजिकिँदै गर्दा यस्ता गीत सुनिन्थे । तर, आजभोली यस्ता लोकभाकाको स्थान ¥याप, अश्लिल र द्धिअर्थी गीतले लिएकाछन् । यस्ता गीतले संस्कृति त मास्छन नै भविष्यको पुस्ताका लागि तिजको विद्रुपिकरण समेत गर्दिन्छन् । पार्वतीले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भई शिवजीसमेत ताण्डव नृत्य गर्ने गरेकाले यस दिनको सम्झनामा नेपाली चेलीहरूले तिजको नाचगान गर्न थालेका हुन् भन्ने जन विश्वास छ । जन विश्वास र मिथकको यो सुन्दर परम्परा आजभोली विस्तारै लोप हुँदै जाने अवस्थामा पुगेको छ । हरेक व्यक्ति आफ्नो तरिकाले तिज मनाउन स्वतन्त्र छ । तर, चाडपर्व व्यक्तिका नभई समाज राष्ट्रका परिचायक हुन् । हाम्रो सामुहिकता चिनाउने माध्यम हुन् । हामीलाई सामाजिक बनाएर एक आपसमा जोड्ने मसिना धागा हुन् । त्यसैले यस्ता सामाजिक, सांस्कृतिक विषयका सामुहिक मूल्य, मान्यता हुन्छन् । तिनका आफ्ना परम्परा हुन्छन, चाल चलन हुन्छन् । ति परम्परा र सामाजिक, सांस्कृति अभ्यासका न्यूनतम मूल्य, मान्यता र अभ्यासलाई भुलाउन खोज्नु भनेको हाम्रो परिचय नै नामेट पार्नु सरह हो । तिजले सामना गरिहेका चुनौतीहरूको समाधान खोज्न नेपाली समाजले ढिला गर्नुहुँदैन । सांस्कृतिक महत्वलाई जोगाउँदै आधुनिक युगसँग एकाकार गर्न मद्धत गर्ने तिज पर्वको मोलिकता हराउँदै जानु नेपाली समाजका लागि चिन्ताको विषय हो । तिजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै उल्लासमय, संस्कार र सद्ध्भावयुक्तका साथै सबै अटाउने तिज बनाउन पहल गर्नुपर्छ । आधुनिकिकरणका नाममा मौलिकता भने मास्नु हुँदैन् ।