काठमाडौं। प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरले महिनावारीसम्बन्धी अन्धविश्वास, छाउपडी प्रथा र सामाजिक चेतनाको विषयलाई केन्द्रमा राख्दै फिल्मको मूल कथावस्तु प्रस्तुत गरेको छ।

सार्वजनिक ट्रेलरले ग्रामीण समाजमा अझै कायम रहेका महिनावारीसम्बन्धी विभेद, किशोरीलाई विद्यालय जानबाट रोक्ने गलत मान्यता तथा छाउपडी प्रथाका कारण महिलाले भोग्नुपरेका पीडालाई प्रभावशाली ढंगले चित्रण गरेको छ। विशेषगरी छाउपडीको समयमा महिलाले २१ दिनसम्म बुवा वा घरका पुरुष सदस्यको अनुहारसमेत हेर्न नहुने भन्ने कुसंस्कारलाई फिल्मले मुख्य द्वन्द्वका रूपमा प्रस्तुत गरेको देखिन्छ।

पत्रकार सम्मेलनमा निर्माता पूजा गुरुङले फिल्म वास्तविक घटनाबाट प्रेरित भएर निर्माण गरिएको बताइन्। उनका अनुसार फिल्मले केवल मनोरञ्जन मात्र होइन, समाजमा चेतना फैलाउने उद्देश्य पनि बोकेको छ।

उनले भनिन्, “देश परिवर्तन गर्न भाषण मात्र पर्याप्त हुँदैन। एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ भन्ने सन्देश हामीले फिल्ममार्फत दिन खोजेका छौँ।”

निर्देशक ओम प्रतिकले पश्चिम नेपालका केही क्षेत्रमा महिनावारी भएको पहिलो पटक किशोरीलाई छाउगोठमा राख्ने परम्पराबाट प्रेरित भएर कथा तयार गरिएको जानकारी दिए। समाज परिवर्तनका लागि औपचारिक शिक्षाभन्दा चेतनाको विस्तार आवश्यक रहेको उनको भनाइ छ।

उनले भने, “हामीले वास्तविक सामाजिक यथार्थलाई फिल्ममा उतारेका छौँ। चेतनाको दायरा फराकिलो बनाउन सकियो भने समाज परिवर्तनका लागि डिग्रीभन्दा सोच महत्वपूर्ण हुन्छ।”

सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘हली’ले छाउपडीजस्ता कुरीतिविरुद्ध प्रश्न उठाउँदै समानता, शिक्षा र चेतनाको आवश्यकता दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ। ट्रेलरले फिल्मप्रति दर्शकको उत्सुकता पनि बढाएको छ।

फिल्मको निर्माण पूजा गुरुङ र जस्मिन श्रेष्ठले संयुक्त रूपमा गरेका हुन्। कलाकारमा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।

फिल्म ‘हली’ आगामी २२ साउनदेखि देशभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको