काठमाडौं : कानूनअनुसार चलिरहेका संघसंस्थामा समस्या भए त्यसको समाधानन कानुनअनुसारनै हुन्छ । कसैलाई मर्का परे उजुरी गर्ने र निकास खोज्ने ठाउँहरु छन् । तर, पछिल्लो समय केही व्यक्तिहरुले संगठित रुपमै योजना बनाएर लघुवित्त वित्तिय संस्थामा त्रास सिर्जना गर्ने र लुटपाटको समेत प्रयास गरेका छन् ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा यस्ता अस्वभाविक र कानून हातमा लिएर गैरकानुनी काम बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले विरोध जनाएका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स, डेभलपमेन्ट बैंकर्स, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ त्यस्ता घटनाको विरोध गरेका हुन् । कर्मचारी तर्साउने तथा धम्क्याउने गरेपछि उनीहरुले खेद प्रकट गरेका हुन् ।

माओवादी जब विपक्षमा आयो, आतंक ब्यूँतियो

नेकपा माओवादीसम्बद्ध मनिराम ज्ञवाली नेतृत्त्वको लघुवित्त तथा वित्तीय संस्थाको शोषण विरुद्धको संघर्ष समिति, नेपालले भदौ ११ गते यता आफ्ना मागहरु पुरा गर्ने नाममा चरणबद्ध आन्दोलन गर्दै आएको छ । सरकारले गठन गरेको कार्यदलले हालसम्म पनि कुनै ठोस निर्णय दिन नसकेको र लघुवित्त कम्पनीहरुको समस्या ज्यूँका त्यूँँ रहेकाले कडा आन्दोलन गर्नुपरेको ज्ञवालीको भनाइ छ। भदौ ११ गते यता संघर्ष समितिले आन्दोलनको नाममा ९ वटा लघुवित्त कम्पनीको १७ वटा शाखा कार्यालयमा तोडफोड, आगजनी र महत्त्वपूर्ण प्रमाण तथा कागजात नष्ट गर्ने काम गरेको छ। सरकारको नेतृत्वबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि लघुवित्त वित्तीय संस्थाहरुमाथि धरपकड बढेको देृखिन्छ । जब माओवादीको नेतृत्वमा सरकार थियो, ज्ञवाली नेतृत्वको समूह मौन थियो । अहिले पुन सो समुह सल्बलाएको मात्र छैन, कानून हातमा लिएर संस्थाहरुका कागजात नियन्त्रणमा लिने, ल्यापटप खोस्नेजस्ता काममा सक्रिय हुँदा वित्तिय संस्था त्रासमा देखिन्छ ।

नेपाल लघुवित्त बैंकर्श संघले असुरक्षा बढेपछि गभदौ १२ गतेनै सुरक्षाको माग गर्दै गभर्नरलाई निवेदन दिएको थियो ।

हेर्नुस् सुरक्षा माग गर्दै दिइएको पत्र

सरकारमा हुँदा केहि समस्या नै नभएजसरी शान्त बसेको लघुवित्त संघर्ष समितिले सरकारबाट माओवादी बाहिरिए लगत्तै लघुवित्त विरुद्धको आन्दोलनलाई थप सशक्त बनाएको छ । यस्तो खालको अराजकता बढेपछि यतिखेर बैंक तथा वित्तीय क्षेत्र तरङ्गित भएको मात्र छैन त्रसित पनि बनेको छ ।  देशका विभिन्न भागमा रहेका लघुवित्त कम्पनीको शाखा कार्यालयमा गएर तोडफोड, लुटपाट, आगजनी लगायतका गतिविधिहरू बढेपछि सम्बद्ध बैंकरहरूले दुःख व्यक्त गरेका छन् ।

लघुवित्त संघर्ष समितिको सुझावलाई समेत सामेल गरेर सरकार र नेपाल राष्ट्र बैंकले समाधानको लागि आवश्यक कदम चालिरहेको अवस्थामा अचानक तोडफोडमा उत्रिनु राम्रो नभएको लघुवित्त बैंकर्स संघ बताउँछ । सहज रुपमा कारोबार गर्नबाट बन्चित भएको भन्दै अराजक गतिविधि गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर कानून बमोजिम कारबाही गर्न ती संस्थाले संयुक्त रुपमा आह्वान गरेका छन् ।

लघुवित्त तोडफोड गर्ने १२ जना पक्राउ

काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित विन नेपाल लघुवित्त वित्तीय संस्थाको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । भदौ ११ मा लघुवित्तको कार्यालयमा फिल्ड कर्मचारी विनीता खरेललाई नियन्त्रणमा लिएर आरोपीहरूले तोडफोड गरेका थिए ।
उनीहरूले २ लाख मूल्य बराबरको सामान तोडफोड गरेर लघुवित्तको कागजात बा १८ च १०५१ नम्बरको बोलेरोमा लगेको आरोप लगाएर लघुवित्तका शाखा प्रबन्धक ३७ वर्षीय विकाश रत्न श्रेष्ठले जाहेरी दिएका थिए । शाखा प्रबन्धकको जाहेरीको आधारमा १२ जनालाई पक्राउ गरेर मुलुकी अपराधसंहिता–२०७४ अनुसार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा खानीखोला गाउँपालिका–१ घर भएका भक्त बहादुर ब्लोन, चौरीदेउराली घर भएकी कमला माझी, भुम्लु गाउँपालिका–१० बस्ने ५९ वर्षीया कान्छीमाया तामाङ, सिन्धुपाल्चोक घर भएकी ४० वर्षीया सरु दाहाल, रुपा पोखरेल, हिरा शाही, ६० वर्षीया इन्दु कुमारी खरेल, प्रिया खत्री, २८ वर्षीया रमा चौलागाईं, निल कुमारी लुइँटेल, गोमा खत्री र गंगादेवी चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको