काठमाडौं । नेपाल पुलिस क्लबले नेपाली राष्ट्रिय महिला भलिबल टोलीका सदस्य सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
यी तीन जना खेलाडी आगामी काभा वुमन्स क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबबाट खेल्ने छन् । काभा वुमन्स क्लब च्याम्पियनसिप सेप्टेम्बर दोस्रो साता माल्दिभ्समा हुनेछ ।
पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडी अनुबन्ध गरेको बताए । घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ क्लबबाट र सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् ।
यसअघि, यी तीनै खेलाडी काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उप विजेता हुँदा राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य हुन् । सुमित्रा रेग्मीले सोही प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।
पुलिस क्लबले यसअघि घरेलु भलिबलमा च्याम्पियन बनिसकेको छ र यो पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण पनि सुरु गरिसकेको छ ।
पुलिस क्लबमा राष्ट्रिय टोलीकी उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, र शान्तीकला तामाङ रहेका छन् । राष्ट्रिय टोलीबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टोलीमै छन् । नयाँ खेलाडीहरूको समावेशले पुलिसको टोलीलाई अझ बलियो बनाएको छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।