काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन्।
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो। समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने र देशभरबाट समूदायका व्यक्तिहरुलाई काठमाडौं बोलाइएको छ।
‘२०८१ भदौ ४ गते हामी कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि दिउँसो १ बजे भेला हुनेछौँ र दिउँसो १ः३० बजे गौरव यात्रा सुरु हुनेछ। यात्रा वसन्तपुर डबलीमा हाम्रा दिवङ्गत साथीहरू र नायकहरूको जीवनको सम्झनामा मैनबत्ती बालेर समापन हुनेछ,’ नीलहिरा समाजको सूचनामा भनिएको छ।
‘संस्कृति मनाऔँ, लैङ्गिक विविधता अंगालौँ’ भन्ने नाराका साथ मनाउन लागिएको गाईजात्रामा मौलिक पोसाक, संस्कृती, बाजागाजासहित उनीहरु सडकमा आउने पनि शाहले जानकारी दिए। ‘समाजमा हामी पनि छौं, हाम्रो पनि अधिकार र पहिचान छ भन्ने सन्देश दिनका लागि गाईजात्रालाई विशेष बनाइएको हो,’ उनले भने।
समुदायमन व्यक्तिहरुले आफूले चाहेको पोसाक लगाउन र स्वतन्त्रताको अनुभूति गराउन गाईजात्रा प्रदर्शनी उपयोगी भएको पनि उनले जानकारी दिए। प्रदर्शनीमा नेपाल सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, व्यवसायी एवम विभिन्न देशका कूटनीतिज्ञहरुलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ।



