नारायण गाउँले । पशुपति कोटिहोमको व्यासासनमा दलित समुदायका गुरुहरू पुगेको घटनाको पनि विरोध गर्ने र आफूलाई राजनैतिक अभियन्ता भन्नेहरू दुःखी आत्मा नै हुन् ! ती हेर्दा समताको पक्षमा, दलितको पक्षमा देखिए पनि दलितमुक्ति तिनको चाह होइन । शायद विभेद मेटिएको दिन तिनको अभियान र राजनीति सकिने डर तिनलाई छ !
हिन्दु धर्मभित्र ‘यज्ञ’को स्थान सबैभन्दा उच्च छ र त्यस यज्ञभित्र पनि व्यासको आसन सर्वोच्च मानिन्छ ! पशुपतिको कोटिहोम ‘महायज्ञ’ भनिएको थियो र त्यसको व्यासासनमा कृष्ण दमाइ पुग्नु अभूतपूर्व क्रान्ति थियो ! यो एउटा गाउँको सहभोजन या जातीय सद्भावको भेलाजत्रो घटना थिएन । सिङ्गो देश र विदेशभरिका नेपालीले चासो दिएको र धार्मिक समाजमा ठूलो असर पार्न सक्ने मञ्च थियो । यसको कभरेज, पहुँच अनि यसले दिने सन्देश कुनै सड़कको ऱ्याली या कोणसभाभन्दा ठूलो थियो । कालापानीको सीमाविवादबारे काठमाडौंमा बोल्नु र युएनको मञ्चमैं गएर बोल्नुको प्रभाव एउटै हुँदैन ! कला र गला एउटै हो, तर त्यही गला एउटा मोहल्लाबाट उठेर इन्डियन आइडलको मञ्चमा पुग्यो भने त्यो त्यही रहन्न ! आन्दोलनका लागि, अभियानका लागि ‘मञ्च’को, ठाउँको महत्त्व छुट्टै हुन्छ !
त्यो कोटिहोमको मञ्च धर्मलाई पेशा बनाएका या बनाउने इच्छा राखेका धेरै छोटे-बड़े गुरुहरूका लागि सपनाको मञ्च थियो । एक दिन त्यो आसनमा पुगेर प्रवचन गर्न पाए जिन्दगी फेरिने थियो भन्ने धेरै ब्राह्मण गुरुहरूलाई थियो । मञ्चले दिने एक्सपोजरको लोभ धेरै धार्मिक प्रवचकलाई थियो । राजनीतिकर्मीदेखि कलाकारलाई पनि ठूलो मञ्चको लोभ हुन्छ, कविता लेख्नेलाई पनि मञ्चको लोभ हुन्छ ! यो सामान्य हो !
यो संसारकै उच्च मञ्च थियो त्यो भन्न खोजिएको होइन, देशको सबैभन्दा ठूलो मञ्च भनेको पनि होइन, तर धार्मिक समुदायभित्र, धार्मिकसांस्कृतिक समाजभित्र पशुपतिको त्यो मञ्च असामान्य थियो ! विभेदको जड़ धार्मिक-सांस्कृतिक भएकाले त्यो धार्मिक मञ्च अझ खास थियो ! राजनीतिको मञ्च बेग्लै छ । समाजका अन्य मञ्च पनि बेग्लै छन् । त्यहाँ पनि कहीँ दलित वर्ग पुगेको होला, कति धेरै ठाउँमा पुग्न बाँकी होला । तर यो विशाल धार्मिक मञ्च थियो । यो कुरा बुझेर पनि बुझ्न नचाहने आत्माहरू हुँदा रहेछन् !
त्यो मञ्चमा गुरु कृष्ण दमाई पुग्नुभयो । उहाँले आफूले भोगेका विभेदबारे स्मरण गर्नुभयो । विभेदको विपक्षमा र समतामूलक समाजको पक्षमा बोल्नुभयो । हजारौँ श्रोताले ताली बजाए ! हिजो एउटा वर्गले मात्रै पेवा ठानेको आसन र प्रवचनमा उहाँ पुग्नुभयो ! देशविदेशभर एकै पटक यो चर्चा, प्रसंशा र बहसको विषय बन्यो ।
के यो उपलब्धि होइन ? के दलितको पीड़ाबारे कविता लेखे पनि सुनाउने दुई तीन सय श्रोताकै बीचमा होइन ? हिजो यस्ता यज्ञको छेउमा बसेर सुन्दा पनि अपमान सहनुपर्ने अमानवीय अवस्थाबाट आज मञ्चसम्म पुग्नु कुनै क्रान्ति होइन ? कुनै प्राप्ति होइन ? के यो कुनै सुधार होइन ? के यस्तो घटनाको प्रसंशा, प्रचार र अनुमोदनले अझ बढ़ी एकता र समता भएको समाज निर्माणमा कुनै मद्दत गर्दैन ? के यस्ता घटनामा सबैले ताली बजाउँदा धार्मिक कट्टरपन्थ कमजोर बन्न सहयोग पुग्दैन ? के हिन्दु धर्मभित्र सुधारकै पहल र शुरुवात हुन्छ भने त्यो पनि गलत हो ?
मलाई लागेको थियो, समाज अझै रूढ़िग्रस्त छ । त्यो यज्ञमा लफड़ा हुनेछ । कट्टरपन्थीहरूले उभिएर विद्रोह गर्नेछन् । बहिष्कार र तोड़फोड़ शुरू हुनेछ । तर विभेद गर्ने भनिएका र हिजो गरेकाहरूबीच त्यहाँ अद्भुत स्वीकृति र ताली देखियो ! तर उल्टो आफूलाई दलित मुक्तिको अभियन्ता ठान्नेहरूले पो अनेक बितन्डा, विरोध र तर्क गरेको पढ्न पाइयो । त्यहाँ विरोध भएको भए, निषेध भएको भए शायद ती अभियन्तालाई अझ सहज हुने थियो ।
समतामूलक र विभेदरहित समाज निर्माण हामी सबैको दायित्व हो । राज्यले शिक्षा, जनचेतनालगायत मूलतः कानुन निर्माण र कार्यान्वयन गरेर दायित्व पूरा गर्छ । सचेत नागरिकले विचार र चेतना निर्माणमा सघाउँछन् । धार्मिक समुदायले आफ्ना अभ्यास र सोचमा सुधार गर्दै सबैलाई ढोका खोल्छन् र अङ्कमाल गर्छन् र बल्ल समाज सुधार हुन्छ । धार्मिक समुदायले त्यस दिशामा गरेको यो कामको प्रसंशा गर्नु पनि अपराध जस्तै प्रचार किन ? हो यो आफैमा पर्याप्त छैन तर के यो विरोधको विषय हो ? मजाकको विषय हो ?
हिजो काला जातिका लागि चर्चको ढोका बन्द थियो । अलग्गै चर्च थियो । साङ्लाले हातखुट्टा बाँधेर पशुवत् बेचबिखन हुन्थ्यो । पढ्ने, बोल्ने र भोट हाल्ने हक थिएन । तर आज बाराक ओबामालाई राष्ट्रपति बनाउन अमेरिका सफल भयो । हिजो विभेद गर्नेहरूले आज भोट हाले । के त्यो उपलब्धि होइन? आज विभेदविरोधी सबैभन्दा उत्कृष्ट कानुन उनै देशले बनाएका छन् । विभेद त अझै पनि छ भनिन्छ, तर हासिल भएको उप्लब्धिलाई स्वीकार नगर्ने ?
हामीकहाँ राजनीतिले त विभेद धेरै अघि हटाएको हो । बीसे नगर्चीका कथा पढिएकै हो । कानुनहरूमा विभेद निर्मूल गरिएकै हो । तर, समाजमा त थियो र छ नै । कानुन बनाएर मात्रै नहुने रहेछ भन्ने त हामीले बुझेकै छौं । यसलाई नागरिक र खासगरी विभेदको जरो जोडिएको धार्मिक समुदाय नै जाग्न पर्ने रहेछ भन्ने पनि बुझेका छौं ।
अनि यस्तो जागरण आएको बेला होस्टेमा हैँसे थप्ने कि अनेक वैचारिक र राजनैतिक आस्थाको आडमा खोचे थाप्ने ? यस्ता घटनालाई बल दिएर, उदाहरणीय बनाएर एक फड्को छिटो हिँड्ने कि गनगन गर्दै अडिइरहने ?
“धर्मले कहाँ समता आउँछ ? एक जना दमाई मञ्चमा पुग्दैमा कहाँ सुधार हुन्छ ? आजको युगमा वेद पढेर कहीँ सुधार हुन्छ ? जस्ता तर्क सुन्दा प्रगतिवादीजस्तो लाग्छ तर हाम्रो समाज मूलतः धार्मिक छ र चाहे पनि नचाहे पनि केही समय यो धार्मिक नै रहिरहनेछ । त्यसैले धर्मभित्रैबाट आउने सुधार र क्रान्तिले रिजल्ट छिटो दिन सक्छ । यसको अर्थ सबै दलितले वेद पढ्ने भन्ने होइन, सबै बाहुन क्षेत्रीले पनि वेद पढ्दैनन् । धार्मिक मञ्च एउटा मञ्च हो । समाजमा धेरै मञ्च छन् । सबैमा सम्मान र सहअस्तित्वको खाँचो छ ।
भाषणले आउने समता त धेरै मात्रामा आई नै सक्यो । भाषण सुन्ने या कानुन पढ्ने पुस्ता त विभेद गर्ने खालको छैन । झण्डा र आन्दोलनले आउने समता आइसक्यो । कानुन बनाउने हो आन्दोलनले, त्यो बनिसक्यो । राजनीति गर्नेहरू एउटै पाँचतारे होटलमा छलफल गर्छन् र सँगै ड्रिंक गर्छन् । कविता लेखेर सुन्ने या सुनाउनेहरू एउटै मञ्चमा, एउटै क्यान्टिनमा बस्छन् खान्छन् । त्यहाँ विभेद छैन ।
तर समाजमा रिजल्ट आएको छैन । विभेद मेटिएको छैन । त्यसका लागि कृष्ण दमाईको चित्र पर्चापम्पलेटभन्दा शक्तिशाली हुनसक्छ भन्दा विरोध गर्नु र कोरा सैद्धान्तिक तर्क गर्नु जरूरी छैन ।
आजसम्मका दलितमुक्ति आन्दोलन व्यर्थ थिए भनेर कसैले भनेको छैन । न कृष्ण दमाई माइकसम्म पुगेपछि सबै विभेद एकाएक मेटिए भनेर कसैले सोचेको छ । तर यो पनि एउटा आन्दोलन हो र निकै बलियो आन्दोलन हो भन्ने तर्क हो ! एउटा अद्भुत प्रस्थानका रूपमा यसको प्रसंशा भएको हो ! सुधारको पक्षमा, मानवताको पक्षमा र समताको पक्षमा गाउँगाउँमा मान्छे छन् । सोच्नुस् त तिनलाई कति बल पुगेको छ यो उदाहरणले !
कट्टरपन्थी धार्मिक समुदायलाई यसले पोल्नु स्वाभाविक हो, तर दलितकै पक्षमा देखिनेहरूलाई पनि कृष्ण दमाईको चित्र र त्यसको प्रसंशाले पोल्नु दुर्भाग्य नै हो !
( गाउँलेकाे फेसबुकबाट)