हेटौँडा । विगत चार वर्षदेखि स्थगित मकवानपुर जिल्ला लिग फुलबल प्रतियोगिता आगामी भदौ ७ गतेबाट सञ्चालन गर्ने तयारी भइरहेको छ।

मकवानपुर जिल्ला फुटबल संघले अहिले लिग सञ्चालनका लागि तीव्र तयारी गरिरहेको जनाएको छ। फुटबल संघले लिग गराउने तयारी गरिरहँदा केही क्लबहरुले भने लिगप्रति असन्तुष्टि जनाएको पाइएको छ। लिग कम नकआउट प्रणालीमा लिग गराउँदा घटुवा हुने क्लब कसरी निश्चित हुन्छ भन्नेमा प्रश्न उठेको छ।

लिग राउन्ड रोविनका आधारमा सञ्चालन गर्ने की लिग कम नकआउट प्रणालीमा गर्ने भनेर केही क्लबहरुले प्रश्न गरिरहेको छ भने केही क्लबका पदाधिकारीहरुले लिग सजिलै नहुने बताउँदै आइरहेका छन्। यता जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले भने प्रतियोगिता निर्धारित समयमै भदौ ७ गतेबाट नै सञ्चालन हुने र तयारी तीव्र चलिरहेको बताए। उनले लिग समयमा सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले लिगबारे क्लबहरुसँग फेरि छलफल गरेर निर्णय गर्ने बताएका छन्।

जिल्ला लिग फुटबल लिग कम नकआउट प्रणालीमा खेलाउन तयारी भएको छ। जिल्ला फुटबल संघ मकवानपुरका सचिव छवि सुवेदीका अनुसार लिग राउन्ड रोविनको आधारमा हुनुपर्ने भएपनि लिग कम नकआउट चरणमा गर्ने संघको तयारी छ। लिगमा २८ क्लबको सहभागिता रहने र एउटा क्लबले २७ खेल खेल्नुपर्ने भएपछि प्रतियोगिता लिग कम नकआउट चरणमा खेलाउन लागेको महासचिव सुवेदीले बताए। ‘एउटा क्लबले २७ खेल खेल्न गाह्रो हुन्छ र आर्थिक भार पनि। यति खेल खेलाउन न आयोजकले सक्छ न क्लब आफैँले’ उनले भने।

लिगकम नकआउट चरणमा खेल खेलाएमा क्लब र संघलाई आर्थिक भार कम पर्ने उनको भनाई छ। यसपटक लिगमा सहभागी हुने २८ क्लबलाई ७ समुहमा विभाजन गर्ने तयारी भइरहेको उनले बताए। ७ समुहमा ४–४ टिम रहनेछन् भने एउटा टिमले ३–३ खेल खेल्नेछ। ७ वटा समुहबाट अंकको आधारमा पहिलो, दोस्रो र तेस्रो गरी २१ वटा टिम नकआउट चरणमा पुग्नेछ। बाँकी ७ वटा क्लबहरुबाट अंकको आधारमा उत्कृष्ट ५ टिमलाई जिल्ला लिग खेल्ने टिमको रुपमा कायमै राखी पुछारमा रहने दुई टिम घटुवा हुने महासचिव सुवेदीले बताए। पुछार रहने टिमबीच अंक बराबर भएको अवस्थामा क्लबहरुबीच प्रतिस्पर्धा गराइने बताइएको छ।

यता क्लबका पदाधिकारीले भने लिग भनेपछि सबै क्लबले एकअर्कासँग खेल्न पाउनुपर्ने बताउँदै आएका छन्। चार वर्षपछि हुन लागेको लिग विवादरहित बनाउन जिल्ला फुटबल संघलाई भने चुनौतिको विषय बनेको छ। महासचिव सुवेदीले १५–१६ दिनमा लिग सकाउने तयारी भइरहेको पनि बताए। हेटौँडा–११ स्थित सिमलटार मैदान, हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला र हेटौँडा–६ स्थित गौरिटार रंगशालामध्ये दुई मैदानमा दैनिक प्रतियोगिता गराउने तयारी भइरहेको उनले बताए। लिग विजेताले प्रदेशस्तरीय लिगमा सहभागी जनाउन पाउनेछ। लिग विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको