काठमाडौं । ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
साउन २९ गते दशरथ रंगशाला काठमाडौंमा चर्च ब्वाइजले भुटानको पारो एफसीसँग खेल्दैछ।
टोलीको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारी राम्रो भएको बताए। राष्ट्रिय टोलीमा खेलिरहेका केही खेलाडी अनुबन्ध भएको उनले जानकारी दिए। यस्तै विदेशी खेलाडी पनि आफूसँगै खेलिरहेकाले तयारीमा आफू सन्तुष्ट रहेको बताए।
‘हामीले साउन १ देखि ट्रेनिङ गरिरहेका छौं। छोटो समयको तयारी भएपनि सिनियर टोलीमा लामो समय खेलिरहेका खेलाडी भएको कारण खासै समस्या छैन। हाम्रो टिमले राम्रो प्रदर्शन गर्नेछ भन्नेमा म आशावादी छु’, उनले भने।
यस्तै खेलको लागि केल्मीको फिफाद्वारा स्वीकृत बल प्रयोग हुनेछ। नेपालको लागि केल्मीको आधिकारी विक्रेता कामारु ट्रेडिङ कम्पनीले बल प्रायोजन गरेको हो।
क्लबले ३ विदेशीसहित २३ जना खेलाडी अनुबन्ध गरेको छ। टोलीको कप्तानी अनन्त तामाङले गर्ने छन् भने उपकप्तानको जिम्मेवारी एरिक विष्टले पाएका छन्।



