काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उद्घाट गर्दै खेलकुदमन्त्री तेजुलाल चौधरीले एक महिनाभित्र खेल क्षेत्रका सबै विवाद समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

बिहीबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो एकेडेमी हलमा खेलकुदमन्त्री चौधरीले तेक्वान्दो प्रतियोगिताको उद्घाटन गरेसँगै प्रतियोगिता सुरु भएको हो।

तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले तेक्वान्दो सबैभन्दा अनुशासित खेल रहेको भन्दै नियम र कानुन तोडियो भनेर विवाद सृजना भएको सुन्नमा नआएको बताए। उनले सरकारले एक महिना भित्रमा सबै खेल क्षेत्रमा रहेका विवादको समाधान गर्ने प्रतिवद्धता पनि जनाए।

उनले भने,‘तेक्वान्दो खेलकुद क्षेत्रको सबैभन्दा अनुसाशित खेल हो। यसमा नियम र कानुन तोडियो भने विवाद सृजना हुन्छ। त्यसैले कानुन तोडिएको छ भने तपाइँहरु ढुक्क हुनुहोस्, केही महिना कुर्नु पर्दैन्। कम्तीमा एक महिनाभित्रमा यी कुराहरु समाधान हुनसक्छ। विवादहरु अब सरकारले चाँडै अन्त्य गर्छ।’

प्रतियोगितामा तीनवटै विभागीय टिमलगायत सातवटा प्रदेशका महिला तेक्वान्दो खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा ग्यरोगी (फाइट) र पुम्से (फर्म) विधा समावेश गरिएको छ,जसमा ४४५ जना खेलाडीहरूले सहभागिताका लागि नाम दर्ता गरेको संघले जनाएको छ। खेलाडीहरूले ५२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको