पोखरा : पोखरामा नाइट माफिया र बिचौलियाहरु यति शक्तिशाली छन् की उनीहरुले चाहे भने नेपाल प्रहरीका डिएसपीलाई नै तत्काल सरुवा गरिदिन सक्छन् । यसको पछिल्लो उदाहरण बनेको छ पोखराको लेकसाइडमा रहेको बैदाम प्रहरी कार्यालय । जहाँका प्रहरी प्रमुख डीएसपीको ग्राहक पिट्ने क्लवमा बाउन्सरमाथि कारवाही अघि बढाउँदा सरुवा गरिएको छ । प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘पोखरामा एकाध यस्ता नाइट माफिया र विचौलिया छन् जसले गलत गर्दा प्रहरी एक्सनमा उत्रियो भने उल्टै अन्यायपूर्वक सरुवा हुनुपर्छ । ’

घटना के हो ?
असार १५ गते बिहान करिब ५बजे लेकसाइडको स्ट्रिट नम्बर १६ मा रहेको क्लब सिक्सटिन अघि होहल्ला भयो । प्रहरी पुग्दा क्लबका ‘बाउन्सर’हरुले एकजना युवालाई निर्घात कुटपिट गरिरहेका थिए । प्रहरीले केही बाउन्सरलाई नियन्त्रणमा लियो । कुटाइ खाएका पोखराका आयुष थापाकी आमा हिरा थापाले कुटपिट गर्ने बाउन्सर रिजन गौचन र विवेक गुरुङविरुद्ध असार १७ मा जाहेरी दिइन् । दुई बाउन्सरविरुद्ध गाली गलौज, हातपात, कुटपिटसहित अभद्र व्यवहारमा मुद्दा चल्यो ।

क्लब सिक्सटिनका सञ्चालक हुन्, रमेश कार्की । आफ्नोे माथिसम्म पहुँच भएकाले आफूले जे गरेपनि प्रहरीले केही गर्न नसक्ने भन्दै कार्कीले आफ्नाविरुद्ध बोल्नेहरुलाई चेतावनी दिँदै आएका छन् । उसो त उनको क्लवका कारण समस्या भएको भन्दै उजुरी लिएर प्रहरी कार्यालय पुगेका स्थानीयमाथि ३ वर्ष अघि उनी चौकीमै जाइलागेपछि प्रहरीले बाहिर निकालेको थियो । उनै कार्कीले झुटो आरोप लगाउने र अख्तियारसम्म गुहारेर डिएसपी राजेन्द्र श्रेष्ठलाई सरुवा गराइदिए । कार्कीका सहयोगीका रुपमा भुवन गाहा मगरले विचौलियाको काम गर्ने गरेको एक पर्यटन व्यवसायी बताउँछन् । गाहा मगरले क्लव सिक्सटिनमा आइपर्ने समस्यामा प्रहरी मिलाउने जिम्मा नै लिने गरेको बताइन्छ । उनले प्रहरीका केही उच्च अधिकारीहरुसँग आफ्नो निकट सम्बन्ध रहेकाले क्लवमा जे भएपनि समस्या नपर्ने भन्दै क्लवमा हुने गलत गतिविधिको ढाकछोपमा लाग्ने गरेका छन् । त्यती मात्र होइन, प्रहरीका केही उच्च अधिकारीहरुका परिवारका सदस्यहरुलाई आफूले विदेश भ्रमण गराउने र अन्य सुविधाहरु समेत उपलब्ध गराउने भनि आफु निटकस्थसँग बताउने गरेका छन् ।

न्याय दिँदा प्रहरी आफै अन्यायमा

पटक पटक झैझगडा हुने क्लव सिक्सटिनमा जे भएपनि सञ्चालक कार्कीमाथि कसैले एक्सन लिन सकेको थिएन । तर, डिएसपी श्रेष्ठले कार्कीका बाउन्सरहरुलाई कानुनी कठघरामा उभ्याएपछि श्रेष्ठविरुद्ध कार्कीले सबै शक्ति लगाए । गलत उजुरी दिने देखि अख्तियारसम्म धाए र अन्ततः गृहमन्त्रालयलाई नै प्रभावित गर्न सफल भए ।

प्रहरी नियमावली–२०७१ अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरुको सरुवा कम्तिमा एक वर्षमा गर्नुपर्ने व्यवस्था भए पनि कार्कीका बाउन्सरमाथि एक्सन लिने डिएसपी श्रेष्ठको ९ महिनामै सरुवा भएको हो । उनी २०८० असोजमा बैदाम हाजिर भएका थिए । श्रेष्ठको साउन ४ मा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा भएकाे छ  । अहिले डीएसपी सन्तोष निरौला श्रेष्ठको स्थानमा खटाइएका छन् । ‘अब परिक्षा निरौलाको शुरु भएको छ । उहाँले डिएसपी श्रेष्ठले जस्तो काम गर्नुहुन्छ वा कार्कीसँग मौन बस्नुहुन्छ । हामी हेर्दैछौं,’ पोखराका एक पर्यटन व्यवसायीले बताए ।

यता, सोमबार पोखरामा क्रियाशिल १५ वटा पर्यटनसँग सम्बन्धित संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले डीएसपी श्रेष्ठविरुद्ध कतै उजुरी नगरेको बताएका छन् भने पर्यटन व्यवसायीसँग घुस मागिएको भनेर पर्यटन व्यवसायीको तर्फबाट आवेदन परेको भन्ने विषय गलत भएको पनि प्रष्ट पारेका छन् ।

सँधै विवादमा क्लव सिक्सटिन

क्लव सिक्सटिन प्राय विवादमा आइरहने क्लवमा रुपमा परिचित छ । कहिले ग्राहक कुटपीट, कहिले स्थानीयसँग विवादमा यो क्लव पटक पटक जोडिएको छ । उसो त क्लवमा यौनधन्दा समेत भएको भन्दै यसअघि खबरहरु प्रकाशित भएका थिए । ढोरपाटनन्यूज डट कमले त ०७९ चैत २९ गते, ‘असुरक्षित लेकसाइडमा नाइट क्लव : क्लब सिक्सटीनमा बाउन्सरको दादागिरी, यौन व्यापार ’ https://dhorpatannews.com/2023/04/94694 हेडलाइनमा समाचार नै छापेको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको