काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप नेपाल पहिलो खेलमा पराजित भएको छ।

माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो।

पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछि दोस्रो सेट २४-२६ ले आफ्नो पक्षमा पारेको थियो।

तर, तेस्रो सेटमा नेपाल २५-११ मै रोकियो। यो सेटमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन।

चौथो सेटमा सुरुआती समय अग्रता बनाएको नेपालले अग्रता काय राख्न नसक्दा २५-१८ ले गुमाउँदै पराजय व्यहोर्नुपरेको थियो।

उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल पहिलो खेलमै पराजय व्यहोर्न बाध्य भयो। जेनिशा विश्वकर्माको कप्तानीमा उत्रेको नेपालसँग घरेलु भलिबलमा प्रभाव जमाउन सफल खेलाडीको साथ रहेको थियो।

नेपालले महिलातर्फ पहिलोपटक उमेर समूहको भलिबलमा प्रतिस्पर्धा गरेको हो ।

नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ। राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ।

सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ। सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ।

आइतबार कुनै खेल हुनेछैन। सोमबार सेमिफाइनलका दुई खेल हुनेछ । मंगलबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिप १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ। च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ।

यु–२० महिला टोली:

जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको