
काठमाडौं । स्पेनले कीर्तिमानी चौथोपटक युरोकपको उपाधि जितेको छ।
जर्मनीको बर्लिनस्थित ओलम्पिया मैदानमा सोमबार बिहान सम्पन्न खेलमा स्पेन २–१ गोलअन्तरले विजयी हुँदै युरो २०२४ को उपाधि उचालेको हो।
निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई उपाधि दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए। ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १(१ को बराबरीमा ल्याएका थिए।
स्पेनले युरोकपको उपाधि जितेको यो कीर्तिमानी चौथोपटक हो। स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो। त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो। त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो।
त्यसपछि स्पेनले सन् २०१२ मा इटालीलाई ४–० गोलले हराउँदै तेस्रोपटक उपाधि उचाल्यो। स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो।
यता इङ्ल्यान्ड भने फेरि एकपटक युरोकपको उपाधि जित्नबाट वञ्चित बनेको छ। इङ्ल्यान्ड युरोकपको साबिक उप–विजेता पनि थियो। इंग्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो।