काठमाडौं : नेपाली कांग्रेसकाे उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ७ वटै प्रदेशमा उद्यमशीलता सम्मेलन गर्ने भएकाे छ ।
आज बसेकाे विभागकाे पहिलाे नेपाली बैठकले यस्ताे निर्णय गरेकाे हाे। उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको पहिलो बैठक आज महाराजगञ्जमा विभाग प्रमुख उर्मिला थपलियाकाे अध्यक्षतामा बसेकाे थियाे ।
`बैठकमा ७ वटा प्रदेशमा उद्यमशीलता सम्मेलन गर्ने निर्णय गरियो। यसअन्तर्गत प्रत्येक प्रदेशमा उद्यमशीलता र साना तथा मझौला व्यवसायीहरूको सहभागितामा सम्मेलन आयोजना गरिनेछ। यसले स्थानीय उद्यमशीलता प्रवर्धन र नयाँ सम्भावनाहरूको खोजीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ´, विभागका सदस्य खगेन्द्र आचार्यले बैठककाे निर्णयबारे बताए ।

बैठकमा प्रमुख उर्मिला थपलियाले नेपाली कांग्रेस पार्टी भित्र उद्यमशील अभियान सुरु गर्ने र विभिन्न कार्यक्रमहरू संचालन गर्ने घोषणा पनि गरिन्। यस अभियानअन्तर्गत नेपाल स्टार्टअप र SME सम्मेलन, विद्यालय र कलेजहरूको लागि उद्यमशीलता पाठ्यक्रम, मेरो उद्यमशील यात्रा, ह्याकाथन र बुटक्याम्प लगायतका कार्यक्रमहरू संचालन गरिनेछ।
नेपाल स्टार्टअप र एसएमई सम्मेलनमा देशभरका उद्यमीहरू, नीति निर्माताहरू, व्यवसायी नेताहरू र लगानीकर्ताहरूलाई एकै ठाउँमा ल्याएर अनुभव साटासाट र सहयोग गर्ने अवसर प्रदान गरिने बताइएकाे छ । `विद्यालय र कलेजहरूको लागि उद्यमशीलता पाठ्यक्रमले विद्यार्थीहरूलाई प्रारम्भिक चरणमै उद्यमशीलताको ज्ञान प्रदान गर्नेछ´, विभाग प्रमुख थपलियाले भनिन्,` मेरो उद्यमशील यात्रा कार्यक्रमले सफल उद्यमीहरूको प्रेरणादायी कथाहरू मार्फत युवाहरुलाई प्रेरित गर्नेछ। ह्याकाथन र बुटक्याम्प कार्यक्रमले नविनतम विचारहरूको प्रोत्साहन र व्यावसायिक विकासमा सहयोग पुर्याउनेछ।´
बैठकमा सदस्यहरूले आगामी कार्ययोजनामा आफ्नो विचार र सुझावहरू राखेका थिए । बैठकले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहित गर्ने र उद्यमशीलता वातावरण सुदृढ गर्ने उद्देश्य राखेको छ।



