
कास्की : के तपाईं पोखरामा हुनुहुन्छ ? पोखराको लेकसाइडमा रहेको क्लवमा रमाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने सोच्नुहोला, तपाईं क्लवमा बाउन्सरबाटै कुटिन पनि सक्नुहुन्छ । क्लवमा रमाइलो गर्ने तपाईंको चाहना अधुरो हुनसक्छ ।
हो लेकसाइडमा रहेको क्लव १६ मा शनिबार विहान साढे ५ बजे यस्तै घटना घटेको छ । शुक्रबार बेलुका क्लवम १६ मा गएका पोखराका आयुष थापा बाउन्सरबाटै कुटिएका छन् । विहान ५ः३० बजे भीआइपी क्याबिनमा बसिरहेका थापा एक्कासी लड्न पुगे । लडेका ग्राहकलाई सुरक्षित रुपमा घर पुर्याइदिने दायित्व क्लवले पूरा गर्नुपर्ने भएपनि उल्टो क्लवका बाउन्सरले कुटपिट गर्दा थापा घाइते भएका छन् । बाउन्सरको आक्रमणबाट थापाको अनुहार, हात र शरिरमा चोट लागेको छ । थापाको पोखराको जीरो किलोमिटरस्थित रिजनल अस्पतालमा उपचार भइरहेको छ । थापाले आफू क्लवमा लडेको र त्यसपछि बाउन्सरहरुले कुटपिट गरेको बताए । उनले न्यायका लागि प्रहरीमा उजुरी दिएका छन् ।
उसो त क्लव १६ मा यसरी ग्राहक कुटिएको पहिलो घटना भने होइन । यसअघि पनि पटक पटक क्लवमा ग्राहक कुटिएका छन् । क्लव १६ का बाउन्सरहरुले आफ्नो साहुको प्रहरीसँग राम्रो सम्बन्ध रहेकाले के गर्नसक्छस् भन्दै घेरेर कुटेको एक प्रत्यक्षदर्शीले बताए ।
क्लव १६ का सञ्चालक रमेश कार्की हुन् । उनका सहयोगी भुवन गाहा मगरले क्लवमा हुने लफडा मिलाउँदै आएको स्रोतले बतायो । प्रहरीमा जाहेरी दिएपनि आफूहरुको सेटिङ रहेकाले फरक नपर्ने भन्दै क्लव सम्वद्धहरुले थापा र उनका आफन्तलाई धम्क्याएको अस्पतालको बेडमा रहेका थापाका आफन्तले बताए । क्लवमै ग्राहक कुट्नेमाथि के कारवाही हुन्छ ? के साँच्चै उनीहरुले भनेजस्तै सेटिङ छ ? वा ग्राहक तर्साउन मात्र उनीहरुले यस्तो भनिरहेका हुन् ? पीडितको जाहेरीमाथि प्रहरीले कति गम्भीर रुपमा काम गर्छ त्यसबाटै थाहा हुनेछ । थापाका आफन्तले भने क्लव सञ्चालक र आक्रमणमा संलग्नमाथि कारवाही हुने आशा व्यक्त गरेका छन् ।