बर्दघाटः सीजी पोलिटेक्निकद्वारा नवलपरासीको सरावल गाउँपालिकाका युवाहरुलाई टेक्निसियन तालिम प्रदान गरिएको छ । युवाहरुलाई स्वरोजगार बनाउन सरावल गाउँपालिकासँगको सहकार्यमा सीजी पोलिटेक्निकले तालिम प्रदान गरेको हो । युवाहरुलाई सहजै रोजगारी मिल्ने र स्वरोजगार बन्न पनि सहयोग पुग्ने उद्धेश्यले उनीहरुलाई रेफ्रिजेरेसन र एअर कण्डिसन टेक्निसियन तालिम प्रदान गरिएको हो । सीजी इलेक्ट्रोनिक्सको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चौधरी फाउण्डेसनले यो तालिमको कार्यान्वयन गरेको हो । चौधरी फाउण्डेसनका अनुसार सरावल गाउँपालिकाका २६ युवाहरुलाई तालिम दिइएको हो । तालिम ४८ दिनको रहेको थियो । तालिमका सहभागीहरुलाई सोमबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको हो । नवलपरासी १ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

चौधरी फाउण्डेसनका सरावल गाउँपालिकाले यस्तो तालिम आवश्यक छ भनेर प्रस्ताव गरेपछि हामीले तालिमको आयोजना गरेका हौं,´ चौधरी फाउण्डेसनले भनेको छ, इलेट्रोनिक्स टेक्निसियनको अभाव रहेछ, यो तामिलले युवाहरुलाई रोजगारी पाउन पनि सजिलो हुने र आफै पनि स्वरोजगार बन्न सक्छन् ।´

सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारुले चौधरी फाउण्डेसनले युवाहरुलाई तालिम प्रदान गरिदिएकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, यस्तो कार्यक्रमले युवाहरुलाई तत्काल रोजगारी सिर्जना गर्दछ । उनीहरु आफै पनि उद्यमशील बन्न सक्छन् । चौधरी फाउण्डेसनले नवलपरासीमा सीजी पोलिटेक्निक्समार्फत् ६ महिने प्राविधिक तालिम प्रदान गर्दै आएको छ । यस्तै सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काडमाडौंको चन्द्रागिरी, सुनसरीलगायत देशका विभिन्न जिल्लामा युवाहरुलाई प्राविधिक तालिम दिएको छ ।

सांसद चौधरीले नवलपरासीमा रहेको आफ्नो निर्वाचन क्षेत्रमा युवाहरुलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका विभिन्न निकाय, चौधरी फाउण्डेसन र अन्य विभिन्न सामाजिक संघसंस्थामार्फत् युवा र महिलाहरुलाई लक्षित गरेर स्वरोजगारमूलक कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर