
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट विभेदकारी भएको भन्दै मन्त्रालयगत छलफलका क्रममा चर्को असन्तुष्टि जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । भने राप्रपाका प्मुख सचेतक ज्ञानेबहादुर शाहीले बजेटमा कर्णालीलाई उपेक्षा गरेको भन्दे रोष व्यक्त गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङदेनले बजेट पुस्तिका च्यातेका हुन् । पुस्तिका च्यात्दै उनले भने, ‘सामान्यतया म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्याउनुपर्ने त्यहाँ नहुर्याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने ।
अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरेका छन् । लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए । ‘यो मेरो मात्रै मनको कुरा होइन । अहिले त्यस्तो कुनै नाप्ने चिज रहेछ भने यो हलभित्र रहेका जुनसुकै पार्टीको भएपनि चार वटा निर्वाचन क्षेत्रदेखि बाहेकको सबै प्रतिनिधि सभा सदस्यहरुको मनको कुरा हो’ उनले भने ।
सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरेको लिङ्देनले बताए । यो कति दिन सहेर बस्ने हो भन्ने प्रश्न गर्दै उनले जिल्लाको नाम धेरै राखेको भनेर टिप्पणी हुन्छ भनेर ठेगाना समेत नलेखेर योजनामा बजेट राखिएको भन्दै आक्रोश पोखे । मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उनले बताए ।अध्यक्ष लिङ्देनले भने, ‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौं । यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ ।’
आफूहरु जनताको मत लिएर आएको उल्लेख गर्दै उनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सोधे, ‘कसैको क्षेत्रमा तपाईंको मन्त्रालयबाट एउटा पनि योजना पर्नु नपर्ने, एउटा निर्वाचन क्षेत्रमा अर्बौं पर्नुपर्ने के कारण हो रु कुन विधि कुन तरिकाले हो ? यो कुरा भन्नुपर्यो, थाहा दिनुपर्यो ।’