
लालबन्दी : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकामा औषधी खरिद गर्दा अनियमितता भएकोे छ । आर्थीक वर्ष ०७९/८० को महालेखा परिक्षकको प्रतिवेदनले नगरपालिकामा औषधी खरिद गर्दा अनियमितता भएको देखाएको हो ।ईश्वरपुर नगरपालिकाले यो वर्ष ४० लाख ८० हजार ३९२ रुपैयाँ औषधी र स्वास्थ्य उपकरण खरिदमा भुक्तानी दिएको छ । यसरी भुक्तानी पाउनेमा अनमोल मेडिकल हलले ९ लाख ९८ हजार, मेडप्लस फर्मा डिस्टिब्यूटर्सले १६ लाख १४ हजार र क्यापिटल मेडिसर्ज सप्लायर्सले १४ लाख ६७ हजार भुक्तानी पाएका छन् ।
तर, नगरपालिकाले उनीहरुले ल्याएको औषधी उत्पादन मिति र सकिने मिति ब्याच नम्बर, उत्पादक कम्पनीको नाम समेत उल्लेख गरेको छैन । निशुल्क वितरण गनृका लागि खरिद गरिएको सो औषधी कसरी वितरण गरियो नगरपालिकाले परिक्षण नै नगराएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । औषधी स्वास्थ्य चौकीलाई हतान्तरण गरिएको प्रमाण नहुँदा सो औषधी र उपकरण कहाँ छ ? भन्ने पनि प्रश्न उठेको छ ।
छात्रवृत्तिको रकममा मनपरि
महालेखाको प्रतिवेदनले २५ लाख ४२ हजार रुपैयाँ छात्रवृत्तिका नाममा निकासा भएपनि त्यसको पारदर्शितामा प्रश्न उठाएको छ । नगरपालिकाले ३८ वटा विद्यालयमा सो रकम निकासा गरेको देखाएको छ । तर सो रकम विद्यार्थी सँख्या यकिन गगरेर मात्र निकासा गर्नुपर्नेमा त्यसो नगर्नु नियमसँगत नभएको प्रतिवेदनमा उल्लेख छ । निकासा भन्दा घटी वितरण भएको भए सो रकम असुल गरि छात्रवृत्ति वितरणको प्रमाण पेश गर्नुपर्ने महालेखाको निष्कर्ष छ ।
ईश्वरपुर नगरपालिकामा शिक्षा र स्वास्थ्यमा मात्रै होइन विकास निर्माणका काममा पनि टन्नै बेथीती र अपारदर्शीता देखिएको छ । सो नगरपालिकामा कांग्रेसबाट निर्वाचित मनोज आचार्य मेयर छन् ।